अमेरिका र इजरायलले विद्यालयमा आक्रमण गर्दा इरानका ४० बालिका मारिए
काठमाडौँ– मध्यपूर्वमा बढ्दो तनावबीच संयुक्त राज्य अमेरिका र इजरायलले इरानको एक प्राथमिक विद्यालयमा आक्रमण गर्दा ४० को मृत्यु भएको पुष्टि भएको छ। उक्त जानकारी इरानको सरकारी समाचार संस्था ‘आईआरएनए’ले सार्वजनिक गरेको हो। विद्यालयमा केवल छात्राहरू अध्ययन गर्ने भएकाले यो घटना इरानभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै ठूलो आक्रोश र चिन्ताको विषय बनेको छ।
यो आक्रमणलाई लिएर संयुक्त राज्य अमेरिका र इजरायल माथि तीव्र आलोचना भइरहेको छ, भने इरानले यसलाई आफ्नो सार्वभौमिकता र नागरिक सुरक्षामाथिको गम्भीर आक्रमण भन्दै कडा प्रतिक्रिया जनाएको छ। घटनापछि राजधानी तेहरानसहित देशका विभिन्न सहरमा विस्फोटका आवाजहरू सुनिएको र सैन्य सतर्कता उच्च स्तरमा पुगेको इरानी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
आक्रमणको दायराले इरानको राजनीतिक तथा सुरक्षा संरचनालाई नै लक्षित गरेको देखिन्छ, किनकि तेहरानस्थित संवेदनशील क्षेत्रहरू, राष्ट्रपतिको कार्यालय आसपासका स्थानहरू तथा सर्वोच्च नेताको निवास परिसर नजिकै पनि मिसाइल प्रहार भएको रिपोर्ट सार्वजनिक भएका छन्।
यस घटनापछि इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनेई कहाँ छन् भन्ने विषयले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ। सुरक्षा स्रोतहरूका अनुसार उनलाई तेहरान बाहिर सुरक्षित स्थानमा सारिएको हुन सक्ने संकेत गरिएको छ, यद्यपि आधिकारिक रूपमा उनको वर्तमान अवस्थाबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।
सन् १९८९ देखि इरानको सर्वोच्च नेताको रूपमा शक्तिशाली भूमिका निभाउँदै आएका खामेनेई इरानको राजनीतिक, सैन्य र धार्मिक संरचनाको केन्द्रबिन्दु मानिन्छन्। इस्लामिक गणतन्त्रको संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनीपछि उनले नेतृत्व सम्हालेका हुन् र त्यसयता पश्चिमी देशहरूसँगको तनावपूर्ण सम्बन्ध, आर्थिक प्रतिबन्ध र आन्तरिक विरोध प्रदर्शनको बीचमा पनि उनी इरानी सत्ता संरचनाको सबैभन्दा प्रभावशाली व्यक्तित्वका रूपमा रहँदै आएका छन्।
अमेरिका र इजरायलको यो सैन्य कारबाहीले इरानको आणविक कार्यक्रमलाई लिएर भइरहेका कूटनीतिक वार्तालाई समेत प्रभावित बनाएको छ। वाशिङ्टनले इरानको मिसाइल तथा नौसैनिक क्षमतामाथि लक्षित कारबाही भएको दाबी गरेको छ भने तेहरानले यसलाई खुला युद्धको संकेतका रूपमा व्याख्या गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणपछि दिएको वक्तव्यमा इरानको सैन्य संरचना ठूलो मात्रामा नष्ट भएको दाबी गर्दै इरानी जनतालाई आफ्नै सरकारविरुद्ध उभिन आह्वान गरेका छन्। उनले इरानमा सत्ता परिवर्तनलाई सम्भावित विकल्पका रूपमा प्रस्तुत गरेको अभिव्यक्तिले अन्तर्राष्ट्रिय कूटनीतिमा थप तनाव पैदा गरेको छ।
उता, इजरायली नेतृत्वले पनि यो कारबाहीलाई इरानको रणनीतिक प्रभाव घटाउने प्रयासका रूपमा व्याख्या गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पछिल्ला महिनाहरूमा इरानी नेतृत्वलाई प्रत्यक्ष रूपमा लक्षित गर्ने रणनीति नकारेका छैनन् भन्ने संकेत दिएका थिए। इजरायलका रक्षा अधिकारीहरूले पनि इरानको नेतृत्व संरचनालाई कमजोर बनाउने उद्देश्य सैन्य अपरेसनको मुख्य भाग रहेको बताएका छन्। यसले अमेरिका–इजरायल–इरान त्रिकोणीय तनावलाई युद्धको नजिक पु¥याएको विश्लेषण भइरहेको छ।
यस घटनाले मध्यपूर्व क्षेत्रलाई मात्र होइन, विश्वव्यापी शक्ति सन्तुलनलाई पनि गम्भीर रूपमा प्रभावित पार्ने सम्भावना देखिएको छ। रुससहित केही देशहरूले संयुक्त आक्रमणको भत्र्सना गर्दै अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताएका छन्। इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गर्दै प्रत्याक्रमण सुरु गरेको संकेत दिएको छ, जसले क्षेत्रीय युद्धको जोखिमलाई अझ बढाएको छ।
विद्यालयमाथि भएको आक्रमणमा निर्दोष विद्यार्थीहरूको ज्यान गएको घटनाले युद्धको मानवीय मूल्य कति भयावह हुन सक्छ भन्ने कुरा पुनः स्मरण गराएको छ। अहिलेको परिस्थितिले स्पष्ट देखाएको छ कि मध्यपूर्वमा शक्ति प्रदर्शन, राजनीतिक प्रतिशोध र रणनीतिक प्रतिस्पर्धा एकअर्कामा जटिल रूपमा गाँसिँदै गएका छन्, जसको असर आगामी दिनहरूमा अझ व्यापक र गम्भीर हुन सक्छ।
