स्कार्पियोभित्र फल्स बटम बनाएर गाँजा तस्करीः तीन भारतीय नागरिक रंगेहात पक्राउ

धरान– सुनसरीको धरानमा योजनाबद्ध ढंगले गरिएको गाँजा तस्करीको प्रयास प्रहरीको सतर्कताका कारण असफल भएको छ। कोशी लोकमार्गअन्तर्गत धरान उपमहानगरपालिका–१३ आँपगाछी क्षेत्रमा नियमित चेकजाँचका क्रममा ठूलो परिमाणमा लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूले सवारी साधनभित्रै विशेष तरिकाले फल्स बटम तयार गरी गाँजा लुकाएर भारततर्फ ओसार्ने तयारी गरिरहेका थिए। इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईका अनुसार धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको बीआर १० पिबी २२४१ नम्बरको भारतीय स्कार्पियो गाडीमाथि शंका लागेपछि चेकजाँच गरिएको थियो।

सो क्रममा गाडीको सिटमुनि बनाइएको गोप्य तहभित्र लुकाइछिपाइ राखिएको ५९ केजी गाँजा बरामद भएको हो। प्रहरी निरीक्षक अमरदिप भण्डारीको कमाण्ड र अस्थायी प्रहरी चौकी अमरहाटबाट प्रहरी सहायक निरीक्षक मनोज कुमार बलको नेतृत्वमा खटिएको संयुक्त टोलीले उक्त कारबाही सफल बनाएको हो।

पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, सुपौल जिल्लाका २२ वर्षीय चालक सुबिध कुमार, सोही स्थानका २२ वर्षीय रोहित कुमार तथा सुपौल बजार–१ निवासी ४० वर्षीय मोहम्मद जमशेर रहेका छन्। तीनै जनालाई गाडीसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पछिल्लो समय धनकुटा क्षेत्रलाई केन्द्र बनाएर उत्पादित गाँजा मुलघाट, भेडेटार हुँदै धरानको मार्ग प्रयोग गरी सुनसरी र मोरङका विभिन्न नाकाबाट भारततर्फ तस्करी गर्ने प्रवृत्ति तीव्र बन्दै गएको छ। यही गतिविधिलाई लक्षित गर्दै प्रहरीले निगरानी र चेकजाँचलाई थप कडा बनाएको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट