प्रधानमन्त्री बालेनलाई हर्क साम्पाङको कटाक्ष- आजको दिनमा तपाईकै जुँगा लामो छ

काठमाडौँ– राजधानीको शहरी व्यवस्थापन र सुकुम्बासी बस्ती हटाउने कार्यलाई लिएर चर्किंदो विवादबीच श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र साह (बालेन) लाई लक्षित गर्दै कडा र व्यंग्यात्मक टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको अभिव्यक्तिमा उनले जनतामाथि अनावश्यक दबाब नदिन, शक्ति प्रदर्शनको शैली त्याग्न र विकासमुखी काममा केन्द्रित हुन सुझाव दिएका छन्।

साम्पाङको टिप्पणीमा वर्तमान शहरी व्यवस्थापन शैलीप्रतिको गहिरो असन्तोष देखिएको छ। उनले ‘जनतालाई धेरै दुःख नदिनु’ भन्ने स्पष्ट सन्देशसहित सम्पत्ति र शक्तिको अस्थायी स्वरूपतर्फ ध्यानाकर्षण गराउँदै अन्ततः सबैको गन्तव्य एउटै माटो हुने यथार्थ सम्झाएका छन्।

आफ्नो राजनीतिक दर्शनलाई ‘माटो’सँग जोड्दै उनले संकेत गरेका छन् कि सत्ता र पद क्षणिक हुन्, तर जनताप्रतिको व्यवहार दीर्घकालीन मूल्यांकनको आधार बन्नेछ। उनले प्रत्यक्ष रूपमा सुकुम्बासी र गरीब समुदायमाथि भइरहेको कडाइप्रति असन्तोष जनाएका छन्। ‘लठ्ठी, बुट र बन्दुक देखाएर बहादुरी देखाउनु विकास होइन,’ भन्ने आशय व्यक्त गर्दै उनले विकासको नाममा कमजोर वर्गलाई विस्थापित गर्ने प्रवृत्तिलाई गम्भीर रूपमा प्रश्न गरेका छन्।

उनको भनाइले अहिले सरकारको कार्यशैलीमा ‘मानवीय संवेदना’को अभाव रहेको आरोपलाई थप बल दिएको छ। साम्पाङले व्यंग्यात्मक शैलीमा ‘आजको दिनमा तपाईकै जुँगा लामो छ’ भन्दै वर्तमान शक्ति सन्तुलनको संकेत गरे पनि त्यससँगै उनले शक्ति प्रदर्शनभन्दा संयम र जिम्मेवारी देखाउनुपर्ने सन्देश दिएका छन्।

पुरानो विवाद र ‘जुँगाको लडाई’ जस्ता व्यक्तिगत अहंकार त्यागेर ठोस विकासतर्फ लाग्नुपर्ने उनको आग्रहले राजनीतिक संवादलाई थप तीक्ष्ण बनाएको छ। पछिल्लो समय सरकारले अवैध संरचना हटाउने र सार्वजनिक जग्गा खाली गराउने अभियान तीव्र बनाउँदै आएको छ। तर, यस क्रममा सुकुम्बासी बस्तीहरूमा गरिएको हस्तक्षेप र प्रयोग गरिएको बलप्रयोगको शैलीप्रति विभिन्न पक्षबाट आलोचना हुँदै आएको छ।

अधिकारकर्मीहरूले यसलाई मानवअधिकार र सामाजिक न्यायको दृष्टिकोणबाट पुनर्विचार गर्नुपर्ने बताएका छन् भने सरकारले भने कानुनी दायराभित्र रहेर शहरी व्यवस्थापन गरिरहेको दाबी गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट