मध्यराति ३ वटा सवारी साधन एकआपसमा ठोक्किँदा ३७ यात्रु घाइते, ३४ जनालाई काठमाडौँ ल्याईयो
काठमाडौँ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा सोमबार मध्यराति भएको श्रृंखलाबद्ध सवारी दुर्घटनाले ३७ जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राति करिब साढे ११ बजे बागलुङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको बस काठमाडौँबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किएको थियो। बसले रोकिराखेको ट्रकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
सोही ठक्करबाट स्थिती अनियन्त्रित हुँदा काठमाडौँबाट वीरगन्जतर्फ गइरहेको बा ०१–००६ ख ६७१६ नम्बरको अर्को वसले दुर्घटनाग्रस्त अघिल्लो बसलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना झनै भयावह बनेको थियो।
तीनवटै सवारी साधनमा गरी जम्मा ६८ जना यात्रु सवार रहेकामा ३७ जना घाइते भएको पुष्टि भएको छ। दुर्घटनापछि इलाका प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी बैरेनी र स्थानीय बासिन्दाको सक्रियतामा तत्काल उद्धार कार्य सञ्चालन गरिएको थियो। घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा लगिएको थियो, जहाँ सामान्य अवस्थाका तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
गम्भीर तथा मध्यम प्रकृतिका घाइते ३४ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। तीमध्ये १९ जनालाई राष्ट्रिय ट्रमा सेन्टर र ९ जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ भने अन्य ६ जनालाई विभिन्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ। चिकित्सकका अनुसार केही घाइतेको अवस्था निगरानीमा राखिएको छ, यद्यपि सबैको अवस्था नियन्त्रणमै रहेको जनाइएको छ।
दुर्घटनापछि प्रहरीले तीनवटै सवारी साधनका चालकलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेहरूमा पर्वत कुश्माका ३२ वर्षीय शिव थापा, ललितपुरका ४५ वर्षीय पुरुषोत्तम तिमिल्सिना शर्मा र ट्रक चालक रौतहट गजुराका २८ वर्षीय प्रमोद चौधरी रहेका छन्। प्रारम्भिक अनुसन्धानमा तीव्र गति, असावधानी र सम्भावित मानवीय त्रुटि दुर्घटनाको कारण हुनसक्ने देखिएको प्रहरीले संकेत गरेको छ।
पृथ्वी राजमार्गमा सवारी चाप उच्च रहने र रातिको समयमा ट्राफिक अनुशासन कमजोर हुने अवस्थाले यस्ता दुर्घटनाहरू दोहोरिँदै आएको देखिएको छ।

