टिकटकमा प्रेमको जाल बुनेर लाखौं रकम असुलेको आरोपमा राजविराजका युवक पक्राउ
राजविराज — टिकटकमार्फत सम्बन्ध विस्तार गरेर प्रेम र विश्वासको वातावरण बनाई विभिन्न बहानामा रकम माग्ने र अन्ततः सम्पर्कविहीन हुने सप्तरीको राजविराजका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले राजविराज नगरपालिका–६ थानगाछी टोल निवासी सशीकुमार साहलाई ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ गरेको हो। साहले आफूले सञ्चालन गरेको टिकटक आईडीमार्फत पीडित युवतीसँग चिनजान बढाएका थिए। सामाजिक सञ्जालमा सुरु भएको कुराकानी क्रमशः निकट सम्बन्धमा परिणत भएपछि उनले विभिन्न समयमा विभिन्न कारण देखाउँदै रकम माग्ने गरेको खुलेको छ।
पीडित अस्मिता विश्वकर्माले दिएको जाहेरीअनुसार रकम लिइसकेपछि साह केही समयदेखि सम्पर्कविहीन बनेका थिए। त्यसपछि आफू ठगिएको आशंकासहित उनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएकी थिइन्।
जाहेरी दर्तापछि फरार रहेका साहको खोजी सुरु गरेको प्रहरीले १० असारमा राजविराज–६ स्थित थानगाछी टोलबाट उनलाई पक्राउ गरेको हो। पक्राउ परेका साहविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
सप्तरी जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत चिनजान बढाएर आर्थिक लाभ लिने उद्देश्यले सम्बन्ध निर्माण गर्ने र रकम लिएपछि सम्पर्कविहीन हुने घटनाहरू बढ्दै गएको भन्दै प्रहरीले अपरिचित व्यक्तिसँग आर्थिक कारोबार गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

