‘चाउचाउको कुपनमा परेको सांसद’ भन्दै आफ्नै क्षेत्रका युवाले घेरेपछि खुसुक्क गाडी चढेर हिँडे गेलाल
उदयपुर– ‘मेयरलाई सरुवा गर्नुपर्छ’ भन्ने अभिव्यक्तिका कारण केही साताअघि संवैधानिक अज्ञानताको आरोप खेपेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उदयपुर–१ प्रतिनिधिसभा सदस्य पारषमणि गेलाल यसपटक आफ्नै निर्वाचन क्षेत्रमा स्थानीय युवाको प्रत्यक्ष विरोधको सामना गर्न बाध्य भएका छन्।
बेलका नगरपालिका–१, पुरन्दहमा कोशी नदी कटानको समस्या बुझ्न पुगेका गेलाललाई स्थानीय युवाले विकास निर्माण, बाढी र कोशी कटानबारे प्रश्न गरेपछि विवाद चर्किएको हो। त्यसक्रममा युवाहरूले उनलाई ‘चाउचाउको कुपनमा परेको सांसद’ भन्दै घेराउ गरेका भिडियोहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन्।
घटना रास्वपाका उदयपुर जिल्ला सभापति चित्र कार्कीसहित सांसद गेलाल स्थानीय भेटघाट कार्यक्रममा सहभागी हुन पुगेका बेला भएको हो। स्थानीय युवाले कोशी नदी कटान, संरक्षण तथा निर्वाचनअघि गरिएका प्रतिबद्धताबारे प्रश्न उठाएपछि सांसद गेलालले उनीहरूलाई ‘भ्युजका लागि भिडियो बनाउन आएका’ भन्ने अभिव्यक्ति दिएका थिए। त्यसपछि वातावरण तनावग्रस्त बनेको थियो।
भिडियोमा आक्रोशित युवाहरूले सांसद गेलालको कार्यशैली र जनप्रतिनिधिको भूमिकामाथि प्रश्न उठाउँदै उनलाई ‘चाउचाउको कुपनमा परेको सांसद’ भनेर आलोचना गरेका थिए। विवाद बढेपछि सांसद गेलाल थप जवाफ नदिई गाडी चढेर त्यहाँबाट बाहिरिएको दृश्य पनि भिडियोमा देखिन्छ। उक्त घटनाबारे सांसद गेलाल वा रास्वपाले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।
यो घटना सांसद गेलाल केही साताअघि दिएको अर्को विवादास्पद अभिव्यक्तिको निरन्तरता रूपमा पनि हेरिएको छ। असारको दोस्रो साता सार्वजनिक भएको एउटा भिडियोमा उनले स्थानीय तहका प्रमुखबारे टिप्पणी गर्दै ‘अब मेयर सरुवा गर्नुपर्छ, मेयर सरुवा गर्ने तयारी गर्नुस्’ भनेका थिए। उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक आलोचना भएको थियो।
नेपालको संविधानको धारा २१५ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरप्रमुख र उपप्रमुख प्रत्यक्ष जनमतबाट निर्वाचित पदाधिकारी हुन्। उनीहरूको पाँच वर्षे कार्यकाल संविधानले सुनिश्चित गरेको छ। कर्मचारीसरह कुनै प्रशासनिक निकाय वा मन्त्रालयले निर्वाचित मेयर वा अध्यक्षको सरुवा गर्ने संवैधानिक व्यवस्था छैन। उनीहरू पदबाट हट्ने वा हटाइने अवस्था संविधान र कानुनले तोकेका सीमित प्रक्रियाभित्र मात्र सम्भव हुन्छ।
यही संवैधानिक व्यवस्थाको सन्दर्भमा सांसद गेलालको अभिव्यक्तिलाई लिएर कानुनी तथा राजनीतिक बहस चर्किएको थियो। सामाजिक सञ्जालमा धेरैले संघीय सांसदबाट आएको यस्तो अभिव्यक्तिले संविधान र स्थानीय शासन प्रणालीबारेको आधारभूत बुझाइमै प्रश्न उठाएको टिप्पणी गरेका थिए।
उक्त भिडियो सार्वजनिक भएपछि अर्को पक्ष पनि चर्चामा आएको थियो। रास्वपाकै उदयपुर–२ का प्रतिनिधिसभा सदस्य सूर्य तामाङले भिडियो सार्वजनिक गरेका थिए। त्यसपछि रास्वपाभित्रको आन्तरिक सम्बन्ध र राजनीतिक समीकरणबारे पनि विभिन्न टिप्पणी भए। यद्यपि पार्टीले यस विषयमा कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन।
पछिल्लो घेराउ घटनाले भने विवादलाई सामाजिक सञ्जालको बहसभन्दा बाहिर निकालेर प्रत्यक्ष जनअसन्तुष्टिसम्म पुर्याएको देखिएको छ। स्थानीय युवाले कोशी कटान, विकास र निर्वाचनका प्रतिबद्धताबारे जवाफ मागेको दाबी गरेका छन् भने सांसद गेलालको तर्फबाट घटनाबारे कुनै औपचारिक स्पष्टीकरण आएको छैन।
सांसद गेलालसँग सम्बन्धित पछिल्ला दुई विवाद—‘मेयर सरुवा’को अभिव्यक्ति र आफ्नै निर्वाचन क्षेत्रमा भएको सार्वजनिक विरोधले निर्वाचित जनप्रतिनिधिको संवैधानिक बुझाइ, सार्वजनिक अभिव्यक्तिको जिम्मेवारी र मतदातासँगको उत्तरदायित्वबारे नयाँ बहस सिर्जना गरेको छ।


