मोरङमा घरबाट हराएकी ४ वर्षीया बालिकाको हत्या, दुई सय मिटर टाढा भेटियो शव
विराटनगर– मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलबाट शुक्रबार अपराह्न घरबाट हराएकी चार वर्षीया बालिका कायानत प्रवीण खातुनको हत्या भएको खुलेको छ। साँझ घरदेखि करिब दुई सय मिटर टाढा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
बालिकाको निधार र कन्चटमा गहिरो चोट रहेको तथा शव अर्धनग्न अवस्थामा भेटिएपछि प्रहरीले योजनाबद्ध हत्या भएको आशंकामा अनुसन्धान तीव्र बनाएको छ। प्रारम्भिक अनुसन्धानमा बलात्कार भएको संकेत नदेखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालका अनुसार स्थानीय जफारुल मियाँकी चार वर्षीया छोरी कायानत शुक्रबार अपराह्न करिब ४ बजेदेखि सम्पर्कविहीन भएकी थिइन्। परिवार र स्थानीयले घर वरपर, बाटोघाटो, बारी तथा खाल्डाखुल्डीमा खोजी गर्ने क्रममा साँझ करिब साढे ७ बजे उनको शव फेला परेको थियो।
प्रहरीका अनुसार घटनास्थलमा पुग्दा बालिकाको निधार र कन्चटमा गहिरो चोट देखिएको थियो। शव अर्धनग्न अवस्थामा भेटिए पनि घटनास्थल र शवको प्रारम्भिक अवस्थाका आधारमा यौन हिंसा भएको संकेत हालसम्म नदेखिएको एसपी कटवालले जानकारी दिए। उनका अनुसार बालिकाले माथिल्लो कपडा नलगाएको अवस्थामै घरबाट बाहिरिएको भन्ने विवरण परिवारबाट प्राप्त भएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाका अभिभावकसँग रहेको पुरानो रिसइबीका कारण कसैले बालिकाको हत्या गरी शव फालेको हुन सक्ने आशंका गरेको छ। यद्यपि हत्या कसले, किन र कुन उद्देश्यले गरेको हो भन्ने विषय अझै पुष्टि नभएको र त्यसबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै एसपी कटवालसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि बालिकाको शव शुक्रबार राति करिव साढे ११ बजे पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। प्रहरीले पोस्टमार्टम प्रतिवेदनपछि मृत्युको वास्तविक कारण र घटनाको प्रकृति थप स्पष्ट हुने जनाएको छ।
घटनामा संलग्न व्यक्तिको पहिचान हालसम्म हुन नसकेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झाको नेतृत्वमा विशेष अनुसन्धान टोली परिचालन गरिएको छ। टोलीले घटनास्थलबाट भौतिक प्रमाण संकलन गर्नुका साथै स्थानीय बासिन्दा र परिवारसँग सोधपुछ गरी घटनाको कारण र संलग्न व्यक्तिको खोजी गरिरहेको छ।
मृतक कायानत जफारुल मियाँका दुई छोरा र एक छोरीमध्ये एक्ली छोरी रहेको खुलेको छ। उनको हत्या भएपछि परिवार शोकमा डुबेको छ भने स्थानीय समुदायमा पनि त्रास फैलिएको छ। घटनापछि स्थानीय बासिन्दा र आफन्तले निष्पक्ष अनुसन्धान गरी दोषीलाई यथाशीघ्र पक्राउ गरेर कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन्।
अनुसन्धानका लागि घटनास्थल पुगेका एसपी कटवालसँग स्थानीयले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र अपराधीलाई शीघ्र कानुनी दायरामा ल्याउन आग्रह गरेका थिए। स्थानीय मोहम्मद अन्सारीले आफ्नो क्षेत्रमा यति सानो बालिकाको हत्या भएको घटना पहिलोपटक भएको बताउँदै अनुसन्धानमा समुदायले पूर्ण सहयोग गर्ने तर दोषीलाई छिटो सार्वजनिक गरी कारबाही गर्नुपर्ने माग गरे।
प्रहरीले घटनाका सबै सम्भावित पक्षलाई आधार बनाएर अनुसन्धान अघि बढाइएको र पोस्टमार्टम प्रतिवेदन, फरेन्सिक प्रमाण तथा अन्य अनुसन्धानका आधारमा घटनाको वास्तविक कारण सार्वजनिक गरिने जनाएको छ।

