गुन्डा नाइके अभिषेक गिरीको ‘नेटवर्क’मा प्रहरीको प्रहार, विराटनगरका मुकेश कार्की पक्राउ

विराटनगर– मोरङ प्रहरीले आपराधिक गतिविधिमा अनुसन्धानको केन्द्रमा रहेका ‘गुन्डा नाइके’ अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको आशंकामा विराटनगरका मुकेश कार्कीलाई पनि पक्राउ गरेको छ। कार्कीको पक्राउले गिरीसँग जोडिएको आर्थिक तथा आपराधिक सञ्जालमाथिको अनुसन्धान थप विस्तार गरेको देखिएको छ।

प्रहरीका अनुसार गिरीको आर्थिक व्यवस्थापन, गतिविधि समन्वय तथा सम्भावित आपराधिक नेटवर्कसँग कार्कीको सम्बन्ध देखिएपछि उनलाई नियन्त्रणमा लिएर बहुआयामिक अनुसन्धान अघि बढाइएको हो। विराटनगर महानगरपालिका–७ निवासी ४६ वर्षीय कार्कीलाई वडा प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाको संयुक्त टोलीले शनिबार बिहान करिब साढे ७ बजे उनकै निवासबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार कार्की लामो समयदेखि अभिषेक गिरीसँग सम्पर्क र सम्बन्धमा रहेको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेपछि नियन्त्रणमा लिइएको हो। उनका अनुसार कार्कीको पृष्ठभूमि, आर्थिक कारोबार, गिरीसँगको सम्बन्ध र सम्भावित आपराधिक संलग्नताबारे विस्तृत अनुसन्धान भइरहेको छ।

प्रहरी स्रोतका अनुसार कार्कीले गिरीको आर्थिक हिसाबकिताब मिलाउने, विभिन्न गतिविधिको व्यवस्थापन गर्ने तथा उनको समूहसँग समन्वय गर्ने भूमिका निर्वाह गर्दै आएको प्रारम्भिक रूपमा देखिएको छ। उनी गिरीकै समूहसँग आबद्ध भएर विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको हुन सक्ने आशंकालाई केन्द्रमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

डीएसपी मिश्रले कार्की लामो समयदेखि प्रहरीको निगरानीमा रहेको जानकारी दिए। यसअघि पनि उनलाई पक्राउ गर्न प्रहरी टोली पुगेको भए पनि सफल हुन सकेको थिएन। कार्कीले विराटनगरमा एक सुधार केन्द्र सञ्चालन गर्दै आएको विवरणसमेत प्रहरीले संकलन गरेको छ।

प्रहरीले कार्कीको पक्राउलाई गिरीसँग सम्बन्धित सञ्जालविरुद्धको अनुसन्धानको निरन्तरता भनेको छ। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार गिरीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएर असुली, मिटरब्याज, ठेक्कापट्टामा दबाब सिर्जना गर्ने, धम्की दिने तथा अन्य आपराधिक गतिविधिमा संलग्न रहेको आशंका गरिएका व्यक्तिमाथि निगरानी र अनुसन्धान तीव्र पारिएको छ। केही व्यक्ति फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार गिरीसँग विभिन्न राजनीतिक दलका केही नेता तथा कार्यकर्ताको सम्पर्क र आर्थिक सम्बन्धसमेत देखिएको दाबी गरिएको छ। ती सम्बन्धको प्रकृति र आर्थिक कारोबारबारे पनि अनुसन्धान जारी रहेको जनाइएको छ। यद्यपि, यस विषयमा हालसम्म कुनै आधिकारिक निष्कर्ष सार्वजनिक गरिएको छैन।

अभिषेक गिरीलाई मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता तथा श्रम पारिश्रमिकबाट आर्थिक लाभ लिएको आरोपमा असार १३ गते विराटनगर–८ स्थित निवासबाट पक्राउ गरिएको थियो। अनुसन्धानका क्रममा असार १२ गते कैदीबन्दीलाई वितरण गरिएको करिब १३ लाख ६० हजार रुपैयाँ निकटका व्यक्तिमार्फत पुनः संकलन गरेर आफ्नै नियन्त्रणमा लिएको आरोपमा मोरङ प्रहरीले उनीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको थियो।

पछि उच्च अदालत विराटनगरले बन्दीप्रत्यक्षीकरणको रिट खारेज गर्दै अनुसन्धान टुंग्याउन वा हिरासतबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। त्यसपछि मोरङ प्रहरीले उनलाई संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा म्याद थपका लागि जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो।

जिल्ला अदालतले म्याद थप अस्वीकार गर्दै हाजिरी जमानीमा अनुसन्धान गर्न आदेश दिए पनि गिरी रिहा हुन पाएनन्। उनीविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पहिले नै पक्राउ पुर्जी जारी गरिसकेकाले अदालतबाट छुटेलगत्तै मोरङ प्रहरीले उनलाई नियन्त्रणमा लिएर काठमाडौं पठाएको थियो। हाल उनीमाथि सीआईबीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ।

गिरी अपहरण तथा शरीर बन्धक मुद्दामा नौ वर्ष कैद सजाय भोगेर २०७९ चैत ५ गते रिहा भएका थिए। उनीमाथि कारागारभित्र चौकीदारको भूमिकामा रहँदा कैदीबन्दीमाथि आर्थिक शोषण गर्ने, रासन तथा लत्ताकपडाको भत्ता हडप्ने तथा बाहिर आफ्नो समूह परिचालन गरेर मिटरब्याजको कारोबार सञ्चालन गरेको आरोप लाग्दै आएको छ।

प्रहरीका अनुसार हालसम्मको अनुसन्धानले जेलबाट छुटेपछि पनि गिरीले कारागारभित्रका आर्थिक गतिविधि, मेस आपूर्ति तथा कैदीबन्दीको श्रम आम्दानीमा प्रभाव कायम राखेको देखाएको छ। उनको घरमा गरिएको खानतलासीका क्रममा पैसा गन्ने मेसिनसमेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले गिरीसँग जोडिएको आर्थिक सञ्जाल, सहयोगी समूह तथा सम्भावित संगठित आपराधिक गतिविधिको अनुसन्धान अझ विस्तार गर्दै जाने जनाएको छ। हाल कार्कीमाथिको अनुसन्धान जारी रहेकाले त्यसबाट प्राप्त प्रमाणका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट