कप्तानगन्ज झडपमा केही युवा प्रहरी नियन्त्रणमा, रास्वपा नेताले सार्वजनिक गरे चार जनाको फोटो
विराटनगर– सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई साताअघि भएको हिंसात्मक झडपको अनुसन्धान अघि बढाउँदै प्रहरीले केही स्थानीय युवालाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। तर, अनुसन्धानकै क्रममा रहेका व्यक्तिको संख्या र पहिचान प्रहरीले सार्वजनिक गरेको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समिति सदस्य दीपेन्द्र मेहताले भने चार जना युवा पक्राउ परेको दाबी गर्दै उनीहरूको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। सुनसरी प्रहरीका प्रवक्ता एवं डीएसपी चन्द्र खड्काले अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिइएको पुष्टि गरे पनि पक्राउ परेकाहरूको संख्या वा पहिचान खुलाउन अस्वीकार गरे।
उनका अनुसार घटनाको अनुसन्धान पूरा भएपछि मात्रै पक्राउ परेका व्यक्तिको विवरणसहित आधिकारिक जानकारी सार्वजनिक गरिनेछ। ‘हामीले अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएका हौँ,’ डीएसपी खड्काले भने, ‘अनुसन्धान पूरा भएपछि मात्रै पक्राउ परेकाहरूको विवरण र घटनाबारे आधिकारिक जानकारी सार्वजनिक गर्नेछौँ।’
प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर वा दाबीलाई समेत आफ्नो आधिकारिक विवरणका रूपमा नलिन आग्रह गरेको छ। प्रहरीले रास्वपाका नेता मेहताले सार्वजनिक गरेका फोटो र विवरणबारे आफूहरूलाई आधिकारिक जानकारी नभएको जनाएको छ। अनुसन्धानको संवेदनशीलतालाई ध्यानमा राखेर पक्राउ वा नियन्त्रणमा लिइएका व्यक्तिको विवरण तत्काल सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ।
कप्तानगन्जमा दुई साताअघि दुई पक्षबीच उत्पन्न विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। घटनापछि स्थानीय क्षेत्रमा तनाव सिर्जना भएको थियो। त्यसयता प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान, उनीहरूको भूमिकालगायत विषयमा अनुसन्धान अघि बढाउँदै आएको जनाएको छ।
प्रहरीका अनुसार अहिले नियन्त्रणमा लिइएका व्यक्तिसँग घटनासम्बन्धी विषयमा सोधपुछ भइरहेको छ। उनीहरू घटनामा कस्तो भूमिकामा संलग्न थिए भन्ने विषय अनुसन्धानबाटै यकिन हुने भएकाले तत्कालै पक्राउको संख्या वा आरोपसम्बन्धी विवरण सार्वजनिक नगरिएको हो।
घटना संवेदनशील भएकाले अनुसन्धानलाई सूक्ष्म ढंगले अघि बढाइएको डीएसपी खड्काले बताए। उनका अनुसार अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।

