श्रीमानको ‘धम्कीपूर्ण’ फोनमा जोडिईन माननीय ज्वाला संग्रौलाः ‘८ वर्षअघिको घटना’ भन्दै पन्सिन खोजपछि आलोचनाको वर्षा
काठमाडौँ— सार्वजनिक जीवनमा सक्रिय एक समानुपातिक सांसदका श्रीमानले एक सामाजिक सञ्जाल प्रयोगकर्तालाई फोन गरेर गालीगलौज तथा धम्कीपूर्ण भाषा प्रयोग गरेको विषय अहिले सामाजिक सञ्जालमा चर्चामा छ।
शनिबार भएको भनिएको उक्त घटनासँग सम्बन्धित भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। भिडियोमा व्यक्तिको अनुहार देखिँदैन, मोबाइल स्क्रिनमा फोन गर्ने व्यक्तिको नाम देखिने र फोन संवादको अंश सुनिने सामग्री मात्र देखिन्छ।
भाइरल सामग्रीमा देखिएको फोन नम्बर वा व्यक्तिको पहिचान स्वतन्त्र रूपमा पुष्टि भएको छैन। तर उपलब्ध विवरणअनुसार फोन गर्ने व्यक्ति सांसद ज्वाला संग्रौलाका श्रीमान् हिमाल उपाध्याय भएको दाबी गरिएको छ। फोनमा थर्काइएका ब्यक्ति लमजुङको राइनासका हरि पौडेलले आफूलाई हिमालले म्यासेन्जरमार्फत सम्पर्क गरेर त्यसपछि फोनमा गालीगलौज गरेको बताएका छन्।
पौडेलका अनुसार शनिबार हिमालले म्यासेन्जरमा ‘ओइ हेलो’ भन्दै सन्देश पठाएका थिए। त्यसलगत्तै आएको कल आफू अनलाइन नभएकाले उठाउन नसकेको र पछि फेरी कल गरेको उनले बताए। फोन उठाउनेबित्तिकै हिमालले आफूलाई घर–ठेगाना सोध्दै आक्रोशपूर्ण शैलीमा कुरा गरेको पौडेलको भनाइ छ।
उपलब्ध संवादमा फोन गर्ने व्यक्तिले पौडेललाई ‘तिमी कहाँ छौ’, ‘घर कहाँ हो’ भन्दै प्रश्न गरेको सुनिन्छ। त्यसपछि कुराकानी थप चर्किएको देखिन्छ। पौडेलले ‘के चर्तिकला हो भाइ, कसलाई फोन गरेको ?’ भन्दै प्रश्न गरेपछि फोन गर्ने व्यक्तिले ‘भेट्न आइज’, ‘तेरो छाती छ भने भन’जस्ता चुनौतीपूर्ण शब्द प्रयोग गरेको सुनिन्छ। यतिमात्रै होईन, ‘झारे’ भन्दै अपमानपूवर्क थर्काएको पनि सुनिन्छ।
पौडेलले भने आफूले हिमाललाई व्यक्तिगत रूपमा नचिनेको र फेसबुकमा समेत साथी नभएको बताएका छन्। उनका अनुसार राजनीतिक तथा सामाजिक विषयमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने क्रममा आफूले कुनै व्यक्तिलाई व्यक्तिगत रूपमा लक्षित नगरेको भए पनि त्यसैलाई लिएर आफूलाई दबाब दिन खोजिएको हुनसक्ने आशंका छ।
‘म र उनी साथी होइनौं। मलाई म्यासेज पठाएका रहेछन्, पछि कल गरे। कल उठाउनेबित्तिकै गाली गर्न थाले,’ पौडेलले भने, ‘फेसबुक प्रोफाइल हेर्दा उनी माननीय ज्वाला संग्रौलाको श्रीमान् भएको थाहा पाएँ।’
पौडेलले आफू जेनजी आन्दोलनका क्रममा सक्रिय रहेको र त्यसयता सामाजिक सञ्जालमार्फत सरकार तथा राजनीतिक गतिविधिमाथि खबरदारी गर्दै आएको बताए। तर, व्यक्तिगत आक्षेप लगाउने आफ्नो उद्देश्य नरहेको उनको दाबी छ।
घटनाले सामाजिक सञ्जालमा सार्वजनिक बहस र राजनीतिक आलोचनाको सीमामाथि समेत प्रश्न उठाएको छ। निर्वाचित जनप्रतिनिधिसँग प्रत्यक्ष सम्बन्धित व्यक्तिले राजनीतिक आलोचना गर्ने नागरिकलाई निजी माध्यमबाट धम्कीपूर्ण शैलीमा सम्पर्क गर्नु उपयुक्त हो कि होइन भन्ने बहससमेत सुरु भएको छ।
यसबीच, सांसद ज्वाला संग्रौला र उनका श्रीमान् हिमाल उपाध्यायसँग सम्बन्धित विगतका विवादसमेत सामाजिक सञ्जालमा पुनः चर्चामा आएका छन्। उपलब्ध सामग्रीमा हिमाल सरकारी कागजात किर्ते कसुरमा दोषी ठहर भएको र उनीविरुद्ध ठगीसम्बन्धी मुद्दा परेको दाबी गरिएको छ। साथै, उनी प्रहरीको फरार सूचीमा रहेको दाबी पनि गरिएको छ।
सांसद संग्रौलाको राजनीतिक तथा सार्वजनिक अभिव्यक्तिसँग उनका श्रीमानको पछिल्लो भनिएको फोन संवाद जोडेर सामाजिक सञ्जालमा आलोचना र व्यंग्यसमेत भइरहेको छ। विशेषगरी सांसदका सार्वजनिक अभिव्यक्ति र परिवारका सदस्यको व्यवहारबीच कस्तो सम्बन्ध राख्ने भन्ने प्रश्न उठाउँदै विभिन्न प्रयोगकर्ताले प्रतिक्रिया जनाएका छन्।
यो भिडियो सार्वजनिक भएपछि सांसद ज्वालाले भने ८ वर्ष अगाडिको घट्ना भन्दै विषयलाई सामान्यीकरण गर्ने प्रयास गरेकी छिन्। उनको यो प्रतिक्रियापछि झन सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको आलोचना गरेका छन्।
रेनुका जमरकटेल पौडेलले लेखेकी छिन्– यस्तो प्रमाण सहितको पोष्ट देख्दा पनि अझ अर्काको कुरा किन गरेको ? यो अन्त पनि आएको छ र आउँछ पनि। गम्भिर भएर सोच्ने कहाँ हो कहाँ अझ अरुलाइ आरोप प्रत्यारोप छि गतिछाडा।
डिएलसन कठेट क्षेत्रीले ‘गल्तीको पनि एक्सपाईरी डेट हुन्छ र?’ भन्दै प्रश्न गरेका छन्। उनले गल्ती भनेको गल्ती नै हो नि। अहिले भर्खरै भएको होस्, हिजोको होस् वा ८ वर्ष अगाडिको—गल्ती त गरेकै रहेछन् नि। समय बित्दैमा गलत काम सही त हुँदैन नि। भन्दै प्रतिक्रिया जनाएका छन्।
युवराज क्षेत्री यात्राीले ‘खरानेहरुलाइ आफ्ना गल्ती पुराना हुन्छ्न एआई हुन्छन। सधै खरानेले चाउचाउको कुप्पनबाट संसद पद चिट्ठामा दिदैन होला त्यो दिन जाने बाटो जेल नै हो। तिमिहरुको जेल फोर्ने सिंहदरबार जलाउने भिडियोहरु जनताको हात हातमा छन’ भन्दै लेखेका छन् भने दिपसरु अधिकारीले ‘अझ लाज छैन बोल्न, कठै एस्ता पनि माननीय रे। भन्दै लेखेका छन्।


