गोरुसिंगे जंगलमा पूर्वमेयर किरण सिंह मृत भेटिए

कपिलवस्तु — कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह आइतबार गोरुसिंगे जंगलमा मृत भेटिएका छन्। शुक्रबारदेखि तिलौराकोट सामुदायिक जंगलमा बेपत्ता रहेका ६५ वर्षीय सिंहको शव खोजीमा खटिएको प्रहरी टोलीले फेला पारेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले पुष्टि गरेका छन्।

एसपी भट्टका अनुसार सिंहको शव खोजी अभियानका क्रममा फेला परेको हो। घटनाबारे थप विवरण संकलन भइरहेको उनले बताए। ‘हाम्रो खोजी अभियानमा रहेको टोलीले सिंहको डेथबडी भेटाएको छ भन्ने जानकारी गराएको छ । अन्य विवरण जुटाउँदैछौं,’ उनले भने।

सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित आफ्नो घरबाट निस्किएका थिए। त्यसको केही समयपछि, करिब साढे ३ बजे, उनले आफू निकटका केही व्यक्तिलाई फोन गरी जंगलमा बाटो बिराएको जानकारी गराएका थिए।

त्यसपछि परिवारका सदस्य तथा आफन्तहरू उनको खोजीमा जुटेका थिए। खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा सिंहले प्रयोग गर्ने गरेको लु.प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल फेला परेको थियो।

मोटरसाइकल जंगलको बीच क्षेत्रमा रोकिराखेको अवस्थामा भेटिए पनि सिंहको अवस्था भने तत्काल पत्ता लाग्न सकेको थिएन। त्यसपछि प्रहरीले स्थानीय तथा अन्य खोजी टोलीको सहयोगमा जंगल क्षेत्रमा खोजी अभियानलाई निरन्तरता दिएको थियो।

सिंह पाँच वर्ष कपिलवस्तु नगरपालिकाको मेयरका रूपमा कार्यरत रहेका थिए। उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। शुक्रबारदेखि सम्पर्कविहीन भएका सिंहको मोबाइलसमेत सोही दिन साँझदेखि सम्पर्कमा नआएपछि प्रहरीले प्राविधिक अनुसन्धानसहित खोजीलाई तीव्र बनाएको थियो।

सिंहको मृत्युको कारणबारे भने प्रहरीले तत्काल कुनै विवरण सार्वजनिक गरेको छैन। शव फेला परेको स्थान, मृत्युको प्रकृति र घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट