श्रीमतीको शव सुनकोशीमा भेटियो, केदारनाथ अझै बेपत्ता : भविष्यको चिन्ताले निम्त्याएको थियो त्यो दिन ?
काभ्रेपलाञ्चोक — बुधबार साँझ श्रीमतीलाई पिठ्यूँमा बोकेर घरबाट निस्किएका ६८ वर्षीय केदारनाथ पराजुलीको खोजी अझै सुनकोशीका किनार र जंगल आसपासमै केन्द्रित छ। तर उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली भने आइतबार ओखलढुंगाको सुनकोशी नदीकिनारमा मृत अवस्थामा भेटिएकी छिन्।
मण्डनदेउपुर नगरपालिका–७ कुन्ताबेशीका केदारनाथ र तिलकुमारी बुधबारदेखि सम्पर्कविहीन भएका थिए। काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित दुलालेश्वर महादेव मन्दिर आसपासबाट उनीहरू हराएपछि परिवार, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले निरन्तर खोजी गरिरहेका थिए। पाँच दिनपछि तिलकुमारीको शव सुनकोशी गाउँपालिका–१, ओखलढुंगास्थित नदीकिनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार आइतबार सुनकोशी नदीकिनारमा शव फेला परेपछि पहिचानका लागि परिवारलाई तस्बिर पठाइएको थियो। परिवारले काटिएको कपाल र पिसाब थैलीका आधारमा शव तिलकुमारीकै भएको पुष्टि गरेको प्रहरीले जनाएको छ।
तर केदारनाथको अवस्था अझै अज्ञात छ। प्रहरीले उनको खोजीलाई निरन्तरता दिएको छ। बुधबार रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन गरिए पनि केदारनाथको अवस्थाबारे अहिलेसम्म कुनै ठोस सुराक फेला परेको छैन।
धुलिखेल अस्पताल जाने भनेर निस्किए, दोलालघाटमा ओर्लिए
पराजुली दम्पती हराएको घटनाको पछिल्लो विवरणले उनीहरू घरबाट निस्किएको दिनको घटनाक्रमलाई थप रहस्यमय बनाएको छ। तिलकुमारी पछिल्ला करिब दुई वर्षदेखि बोनम्यारो क्यान्सरबाट पीडित थिइन्। रोग बढ्दै गएपछि उनी ओछ्यानमै थला परेकी थिइन्। उनको उपचार, अस्पताल लैजाने–ल्याउनेदेखि दैनिक स्याहारसम्मको अधिकांश जिम्मेवारी केदारनाथले नै सम्हाल्दै आएका थिए।
तर पछिल्लो समय समस्या तिलकुमारीमा मात्र सीमित रहेन। केदारनाथ स्वयं पिसाबसम्बन्धी समस्याबाट पीडित भए। परिवारका अनुसार उनी धुलिखेल अस्पताल पुगेका थिए। चिकित्सकले प्रोस्टेटको समस्या देखाउँदै शल्यक्रिया गर्नुपर्ने बताएका थिए। अस्पतालबाट फर्किएपछि केदारनाथले परिवारसँग तत्काल शल्यक्रिया नगर्ने र एक–दुई सातापछि पुनः विचार गर्ने बताएका थिए।
यही अवस्थाले उनको मानसिक चिन्ता बढाउँदै लगेको परिवारका सदस्य बताउँछन्। केदारनाथका भतिजा कृष्ण पराजुलीका अनुसार उनलाई सबैभन्दा ठूलो चिन्ता आफ्नो उपचारपछि तिलकुमारीको स्याहार कसले गर्ने भन्ने थियो।
‘उहाँलाई अरू चिन्ता केही पनि थिएन। आर्थिक समस्या पनि होइन। आफू पनि थला परेपछि श्रीमतीलाई कसले स्याहार्ला भन्ने पीरले मानसिक रूपमा विक्षिप्त हुँदै जानुभएको थियो,’ कृष्णले भनेका छन्, ‘त्यसबेला उहाँलाई राम्रो मनोपरामर्श हुन सकेन।’
परिवारका सदस्यहरूका अनुसार केदारनाथले श्रीमतीसँग समेत आफ्नो शल्यक्रियापछि उनको हेरचाह कसले गर्ने भनेर चिन्ता व्यक्त गर्ने गरेका थिए।
ट्याक्सी बोलाए, तर अस्पताल गएनन्
बुधबार दिनभरि केदारनाथ घरमै थिए। साँझ करिब ५ बजेपछि उनले नियमित रूपमा चिनजान भएको ट्याक्सी चालकलाई फोन गरे। उनले ‘बुढीको पिसाब रोकियो, धुलिखेल अस्पताल लैजानुपर्ने भयो’ भन्दै ट्याक्सी बोलाए।
ट्याक्सी घर पुगेपछि ९३ वर्षीया आमा र भतिजीले उनीहरूलाई देखे। कहाँ लैजान लागेको भनेर सोध्दा केदारनाथले धुलिखेल अस्पताल जाने बताए। भतिजीले आफू पनि सँगै जाने इच्छा व्यक्त गरिन्। तर केदारनाथले उनलाई लैजान मानेनन्। उनी एक्लै श्रीमतीलाई लिएर जाने अडानमा रहे। ट्याक्सीमा श्रीमतीलाई राखेर हिँडेपछि भने उनको गन्तव्य फेरियो।
केही दूरी पार गरेपछि केदारनाथले चालकलाई धुलिखेल नजाने र दोलालघाटमा चिनजानको धामीलाई श्रीमती देखाउने बताए। त्यसपछि उनले दुलालेश्वर मन्दिर अगाडि ओर्लिने बताए। ट्याक्सी चालकलाई एक हजार रुपैयाँ दिएर उनी श्रीमतीसहित ओर्लिए। त्यसपछि उनले तिलकुमारीलाई पिठ्यूँमा बोकेर हिँडे। यो दृश्य दुलालघाट क्षेत्रको सीसीटीभीमा समेत कैद भएको परिवारले जनाएको छ।
‘बुबाआमा कहाँ छन् ?’ खोज्दै जाँदा फैलिसकेको थियो अर्को खबर
केदारनाथका छोरा दीपक घर फर्किंदा बुबाआमा देखेनन्। हजुरआमासँग सोध्दा उनीहरू अस्पताल गएको जानकारी पाए। त्यसपछि दीपकले ट्याक्सी चालकलाई सम्पर्क गरे। चालकले आफूले उनीहरूलाई दोलालघाटमा झारेको बताए।
दीपक तत्काल दोलालघाटतर्फ लागे। तर त्यतिबेलासम्म बजारमा एउटा खबर फैलिइसकेको थियो—एक वृद्धले श्रीमतीसहित खोलामा हाम्फाले। परिवारले सीसीटीभी हेर्दा दुलालेश्वर मन्दिरनजिक केदारनाथले तिलकुमारीलाई पिठ्यूँमा बोकेर हिँडिरहेको दृश्य देखियो। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।
यद्यपि घटनाको सुरुवाती चरणमा प्रहरीले नदीमा हाम्फालेको भन्ने विवरणलाई पुष्टि गरेको थिएन। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कविन राईले सञ्चारमाध्यममा आएको दाबीअनुसार नदीमा हाम्फालेको कुनै प्रमाण नभेटिएको बताएका थिए।
‘सञ्चारमाध्यममा आएजस्तो नदीमा हाम्फालेको प्रमाण हामीले अहिलेसम्म भेटेका छैनौँ। कुनै प्रत्यक्षदर्शीले पनि प्रहरीसित हाम्फालेको भन्नुभएको छैन। उहाँहरू बेपत्ता हुनुहुन्छ र खोजीकार्य जारी छ,’ राईले भनेका थिए।
अहिले तिलकुमारीको शव नदीकिनारमा भेटिएपछि घटनाको अनुसन्धान थप गम्भीर बनेको छ। तर केदारनाथ कहाँ छन् र दम्पतीसँग त्यसपछि वास्तवमा के भयो भन्ने प्रश्न अझै अनुत्तरित छ।
गरिबीको कथा होइन, रोग र भविष्यको डर
घटना सार्वजनिक भएलगत्तै यसलाई आर्थिक विपन्नतासँग जोडेर चर्चा गरिएको थियो। उपचार गर्न नसकेर वृद्ध दम्पतीले कठोर निर्णय लिएको हुनसक्ने अनुमानसमेत गरियो। तर परिवार र स्थानीयको विवरणले भने आर्थिक अभावलाई घटनाको प्रमुख कारण मान्न अस्वीकार गर्छ।
पराजुली परिवारका छिमेकी तथा मण्डनदेउपुर–७ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलका अनुसार परिवारको आर्थिक अवस्था कमजोर थिएन। परिवारसँग पर्याप्त जग्गाजमिन छ। उनका छोरा खेतीपाती गर्छन् भने बुहारी सामुदायिक विद्यालयमा शिक्षण गर्छिन्। तीन छोरी छन्। परिवारमा नातिनातिना पनि छन्। एक नाति करिब डेढ वर्षअघि अस्ट्रेलिया पुगेका थिए भने नातिनी पनि विदेश जाने तयारीमा थिइन्।
केदारनाथकी ९३ वर्षीया आमा अझै जीवित छिन्। तिलकुमारीको उपचारमा गाउँपालिकाले समेत आर्थिक सहयोग गरेको थियो। परिवारले आवश्यक परे जग्गा बेचेरै भए पनि उपचार गर्ने तयारी गरेको थियो। तर उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएपछि तिलकुमारीलाई अस्पतालबाट घर ल्याइएको थियो। त्यसपछि उनी मृत्यु पर्खिरहेको अवस्थामा घरमै थिइन् र केदारनाथ उनको स्याहारमा थिए।
वडाध्यक्ष पौडेलका अनुसार परिवारभित्र कुनै ठूलो विवाद वा आर्थिक संकट थिएन। ‘पारिवारिक कारण त्यस्तो देखिँदैन। सबैजना मिलेरै बसेका थिए। रोगकै कारणले हो,’ पौडेलको भनाइ छ, ‘अन्तिम अवस्थामा पुगेपछि रोगको पीडा सहन नसकेर यस्तो कदम उठाएको हुन सक्छ।’ उनका अनुसार यो घटना आर्थिक अभावका कारण भएको निष्कर्षमा पुग्नु उचित हुँदैन।
एउटा प्रश्न अझै बाँकी : निर्णय कसको थियो ?
तिलकुमारीको शव भेटिएपछि घटनाको एउटा पाटो स्पष्ट भएको छ। तर अर्को र अझ महत्वपूर्ण प्रश्न भने बाँकी नै छ—केदारनाथ कहाँ छन् ? स्थानीयका अनुसार केदारनाथले सुनकोशीमा पुग्ने सम्भावित स्थानबारे पहिल्यै सोचेर राखेको हुनसक्ने अनुमान गरिएको छ। तर यो कुरा प्रहरीले पुष्टि गरेको छैन।
त्यस्तै, यदि उनी नदीमा पुगेका हुन् भने त्यो निर्णय उनले एक्लै गरेका थिए कि तिलकुमारीलाई पनि त्यसबारे बताएका थिए भन्ने विषयसमेत खुल्न बाँकी छ। तिलकुमारीको शव ओखलढुंगासम्म कसरी पुग्यो र केदारनाथको हालको अवस्था के छ भन्ने तथ्यले घटनाको वास्तविकता बुझ्न महत्वपूर्ण भूमिका खेल्नेछ।
प्रहरीले भने अनुमानभन्दा प्रमाणलाई प्राथमिकता दिएर अनुसन्धान अघि बढाइरहेको जनाएको छ। अहिले खोजीको केन्द्र सुनकोशीको बहाव क्षेत्र बनेको छ। तिलकुमारी भेटिएको स्थान र केदारनाथ अन्तिमपटक देखिएको क्षेत्रबीचको सम्बन्धसमेत प्रहरीले अनुसन्धान गरिरहेको छ।
तिलकुमारीको शव भेटिएसँगै परिवारले गुमाएको एउटा सदस्यको यथार्थ सामने आएको छ। तर ६८ वर्षीय केदारनाथको खोजी भने अझै जारी छ। र यो घटनाले एउटा गम्भीर मानवीय प्रश्न पनि छाडेको छ—दीर्घरोगले थलिएको जीवनसाथीको हेरचाह गर्ने जिम्मेवारी आफैं बिरामी भएपछि एउटा वृद्ध मानिसको मानसिक संसारमा कति ठूलो संकट सिर्जना गर्न सक्छ ? त्यसको उत्तर अहिले अनुसन्धान, परिवार र सुनकोशीको किनारसँगै खोजिँदैछ।

