गोलबजारमा १५ वर्षीय किशोरको मृत्युपछि भड्किएको प्रदर्शनमा ७४ करोडभन्दा बढीको क्षति
लहान — सिरहाको गोलबजारमा गत साउन १४ गते १५ वर्षीय किशोर गणेश यादवको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएपछि भड्किएको प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीबाट ७४ करोड १३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाले पीडितबाट प्राप्त निवेदन र स्थलगत मुचुल्काको विश्लेषणपछि गोलबजार क्षेत्रमा ६४ वटा संरचना तथा सवारीसाधनमा क्षती भएको जनाएको छ। एसपी वासुदेव पाठकका अनुसार प्रदर्शनका क्रममा १५ वटा निजी घर, १८ वटा पसल तथा व्यवसाय, २८ वटा सवारीसाधन तथा धार्मिक र शैक्षिक स्थलमा तोडफोड तथा आगजनी भएको छ।
घटनापछि भएको क्षतिको विवरण पीडितहरूले दिएको निवेदनका आधारमा स्थलगत मुचुल्काबाट संकलन गरी विश्लेषण गरिएको प्रहरीले जनाएको छ। प्रहरीको विवरणअनुसार सबैभन्दा ठूलो आर्थिक क्षति निजी घर तथा व्यापारिक संरचनामा भएको छ। ती संरचनामा मात्रै ३४ करोड ५ लाख ५९ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
त्यस्तै, पसल तथा व्यवसायमा ३३ करोड १७ लाख १२ हजार रुपैयाँ, सवारीसाधनमा १ करोड २ लाख रुपैयाँ तथा धार्मिक र शैक्षिक स्थलमा भएको तोडफोड तथा आगजनीबाट ५ करोड ८१ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
गत साउन १४ गते सुरक्षाकर्मीको गोली लागेर सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। उनको मृत्यु भएपछि गोलबजार क्षेत्रमा प्रदर्शन चर्किएको थियो।
प्रदर्शनका क्रममा बजार क्षेत्रका निजी घर, पसल, व्यवसायिक संरचना तथा अन्य सम्पत्तिमा तोडफोड र आगजनी भएको प्रहरीको विवरणमा उल्लेख छ। त्यसबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने क्रममा पीडितबाट निवेदन लिइएको र त्यसैका आधारमा स्थलगत मुचुल्का तयार पारिएको प्रहरीले जनाएको छ।
प्रहरीले सार्वजनिक गरेको ७४ करोड १३ लाख ९० हजार रुपैयाँको क्षति प्रारम्भिक अनुमान हो। उपलब्ध विवरणमा क्षतिको अन्तिम मूल्यांकन वा क्षतिपूर्ति निर्धारणसम्बन्धी निर्णय भइसकेको उल्लेख छैन।
घटनापछि करिब एक सातादेखि बन्द रहेका गोलबजार क्षेत्रका पसलहरू मंगलबार बिहान १० बजेदेखि सञ्चालनमा आएका छन्। लामो समयदेखि प्रभावित व्यापारिक गतिविधि पुनः सञ्चालनमा ल्याउने प्रयाससँगै स्थानीयस्तरमा सामाजिक वातावरण सामान्य बनाउने पहल पनि अघि बढाइएको छ।
यसै क्रममा सोमबार सांसद पुरुषोत्तम यादवले गोलबजार नगरपालिका–११ बल्कावामा मुस्लिम समुदायका व्यवसायीसँग छलफल गरेका थिए। उनले सामाजिक सद्भाव कायम राख्दै व्यवसाय सञ्चालनमा फर्किन आग्रह गरेका थिए।
छलफलका क्रममा यादवले आन्दोलनका क्रममा पसल, मल तथा निजी घरमा भएको क्षतिको विषय संसद् र सरकारसमक्ष उठाउने बताएका थिए। साथै, पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई गम्भीर बन्न दबाब दिने प्रतिबद्धता पनि उनले जनाएका थिए।
घटनाको १२औँ दिन मंगलबार गोलबजारमा सामाजिक सद्भाव ¥यालीसमेत निकालिएको छ। उद्योग वाणिज्य संघ गोलबजार, स्थानीय व्यापारी तथा नागरिक समाजको आयोजनामा निकालिएको ¥यालीमा विभिन्न समुदायबीच आपसी सद्भाव कायम राख्ने सन्देश दिइएको थियो।
र्यालीमा ‘हिन्दु, मुस्लिम, बौद्ध, सिख, इसाई आपसमे सब भाइ–भाइ’ भन्ने नारासहित बजार क्षेत्रको परिक्रमा गरिएको थियो।
प्रदर्शन, त्यसपछिको तोडफोड तथा आगजनीबाट ठूलो आर्थिक क्षति भएको विवरण सार्वजनिक भइरहेका बेला स्थानीय तह, प्रशासन, राजनीतिक दल तथा विभिन्न समुदायका प्रतिनिधिहरू जनजीवन सामान्य बनाउन र सामाजिक सद्भाव कायम गर्न सक्रिय भएका छन्।
गोलबजारमा भएको घटनाले एकातर्फ १५ वर्षीय किशोरको मृत्युबाट उत्पन्न आक्रोशलाई हिंसात्मक प्रदर्शनसम्म पुर्याएको छ भने अर्कोतर्फ त्यसक्रममा भएको तोडफोड र आगजनीले करोडौँ रुपैयाँ बराबरको निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको प्रहरीको प्रारम्भिक विवरणले देखाएको छ।

