रौतहटमा जिप चालकलाई अपहरण शैलीमा घर पुर्‍याएर कुटपिट, बाबु पक्राउ–छोरा फरार

रौतहट — जिप जबरजस्ती रोकेर चालकलाई अपहरण शैलीमा घरमै पु¥याई निर्घात कुटपिट गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गौरबाट दुर्गा भगवती गाउँपालिकातर्फ जाँदै गरेका जिप चालक अरविन्द पण्डितलाई सोमबार राति राजदेवी नगरपालिका–२ हजमिनियामा गाडी रोक्न लगाएर नियन्त्रणमा लिई गौर नगरपालिका–९ सिर्सियास्थित घरमा पुर्‍याएर कुटपिट गरिएको हो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गौर नगरपालिका–९ निवासी साहेब सिंह भनिने राजवंश सिंहलाई मंगलबार बिहान नियन्त्रणमा लिएको छ। उनका छोरा आयुष सिंह भने घटनापछि फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

दुर्गा भगवती गाउँपालिका–३ निवासी पण्डित बीआर ०६ पीई २१२१ नम्बरको जिप लिएर घरतर्फ जाँदै गर्दा सोमबार राति करिब ९ बजे हजमिनिया गाउँमा सिंह बाबुछोराले गाडी रोक्न लगाएको पीडितको आरोप छ। गाडी नरोके पेट्रोल छर्केर आगो लगाइदिने धम्की दिएपछि आफूले जिप रोकेको पण्डितले बताएका छन्।

गाडी रोकेपछि उनलाई जबरजस्ती नियन्त्रणमा लिएर सिंहद्वयले आफ्नै घरतर्फ लगेको र त्यहाँ अम्बाको लौरो प्रयोग गरी कुटपिट गरेको बताइएको छ। कुटपिटका क्रममा चालक गम्भीर घाइते भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै पुगेको प्रहरीले पण्डितको उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याएको थियो। उनको अवस्था गम्भीर रहेको जनाईएको छ। प्रारम्भिक अनुसन्धानअनुसार घटना गौर–गंगापिपरा सडकखण्डअन्तर्गत सिर्सिया चोकमा भएको एउटा घटनासँग जोडिएको देखिएको प्रहरीले जनाएको छ।

जिप चालक पण्डितले कुकुरलाई गाडीले किचेर मारेको विषयलाई लिएर उनीमाथि आक्रमण भएको आशंका छ। प्रहरीले पक्राउ परेका राजवंश सिंहमाथि थप अनुसन्धान अघि बढाएको छ। फरार रहेका आयुष सिंहको खोजीसमेत तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घटनाबारे प्रहरीले अपहरण शैलीमा नियन्त्रणमा लिएको, कुटपिट गरेको तथा धम्की दिएको आरोपलगायतका विषयमा अनुसन्धान गरिरहेको छ। आरोपितमाथिको कसुर अनुसन्धानपछि प्राप्त प्रमाण र कानुनी प्रक्रियाका आधारमा टुंगो लाग्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट