पत्रकार पक्राउपछि जनआस्था कार्यालयमा प्रहरी छापा, कम्प्युटर र विद्युतीय उपकरण नियन्त्रणमा
काठमाडौँ — जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरेको भोलिपल्ट प्रहरीले ललितपुरको सानेपास्थित जनआस्था कार्यालयमै पुगेर खानतलासी गरेको छ।
बिहीबार बिहान करिब ७ बजे जिल्ला प्रहरी परिसर काठमाडौंको टोली कार्यालय पुगेको हो। प्रहरीले समाचारकक्ष र सम्पादकको कार्यकक्षमा प्रवेश गरी कागजपत्र तथा कम्प्युटरलगायत विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार अनुसन्धानका क्रममा कम्प्युटर तथा कम्प्युटरजन्य उपकरण हेर्नुपर्ने भएकाले कार्यालयमा रीतपूर्वक खानतलासी गरिएको हो। उनका अनुसार वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा प्रयोग भएको भनिएका कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिइएको छ।
कार्यालयका कर्मचारीका अनुसार प्रहरी टोलीले समाचारकक्ष र श्रेष्ठको कार्यकक्षमा प्रवेश गरी विभिन्न कागजात तथा इलेक्ट्रोनिक उपकरण संकलन गरेको थियो। कार्यालयभित्र चार–पाँच जना प्रहरी बसेर खानतलासी गरिरहेका बेला अन्य प्रहरी बाहिर तैनाथ थिए।
यो घटनाक्रम श्रेष्ठ पक्राउ परेको केही घण्टामै प्रहरी उनको निवासमा समेत पुगेको पृष्ठभूमिमा भएको हो। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो। पक्राउपछि राति करिब १ बजे पनि प्रहरी उनको घर पुगेको जनाइएको छ।
श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार एक पीडितले केही दिनअघि सञ्चारमाध्यममा प्रकाशित तस्बिरसँग सम्बन्धित विषयमा उजुरी दिएका थिए। उपलब्ध विवरणअनुसार हालसम्म एउटा मात्र उजुरी परेको प्रहरीले जनाएको छ।
प्रहरीले अनुसन्धानको केन्द्रमा साउन २५ गते जनआस्था डटकममा प्रकाशित सामग्रीलाई राखेको छ। उक्त सामग्रीमा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित तस्बिर सार्वजनिक गरिएको थियो। सोही विषयलाई लिएर श्रेष्ठविरुद्ध उजुरी परेको प्रहरीको भनाइ छ।
यस प्रकरणमा अर्को संस्थागत प्रक्रिया पनि अघि बढेको देखिन्छ। उपसभामुख रुबीकुमारी ठाकुरले पनि जनआस्था डटकमको सामाजिक सञ्जाल पेजबाट आफ्नो तस्बिरसहित आपत्तिजनक तथा धम्क्याउने किसिमको सामग्री प्रकाशित भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी थिइन्। उनले सामग्रीमा उल्लिखित आरोप तथा दाबीको स्रोत र प्रमाण झिकाई निष्पक्ष छानबिन गर्न माग गरेकी थिइन्।
यसरी एउटै घटनाक्रममा एकातर्फ प्रहरीमार्फत वैयक्तिक गोपनीयताको कसुरमा आपराधिक अनुसन्धान अघि बढेको छ भने अर्कोतर्फ प्रेस काउन्सिलमा पत्रकारितासम्बन्धी उजुरी परेको देखिन्छ। यही कारण समाचार सामग्रीको प्रकृति, त्यसमा प्रयोग भएका सामग्रीको स्रोत, गोपनीयताको कानुनी सीमा र पत्रकारितासम्बन्धी विवादको क्षेत्राधिकारबारे प्रश्नसमेत उठेको छ।
श्रेष्ठ पक्राउको विरोधमा नेपाल पत्रकार महासंघलगायत पत्रकारका संस्थाहरूले तत्काल प्रतिक्रिया जनाएका छन्। महासंघका अध्यक्ष निर्मला शर्मासहित पत्रकार तथा सञ्चारकर्मीहरूले काठमाडौं प्रहरी परिसरअगाडि धर्ना दिँदै पक्राउप्रति आपत्ति जनाएका थिए। महासंघले घटनाविरुद्ध कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।
प्रहरीले भने आफूहरूले कानुनी प्रक्रियाअनुसार अनुसन्धान गरिरहेको बताएको छ। एसपी थापाका अनुसार अनुसन्धानका लागि आवश्यक डिजिटल सामग्री परीक्षण गर्न कार्यालयमा खानतलासी गरिएको हो।
श्रेष्ठलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। उनलाई बिहीबार अदालतमा उपस्थित गराउने तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ। यस प्रकरणको केन्द्रमा अहिले दुई फरक प्रश्न देखिएका छन—प्रकाशित सामग्रीले वैयक्तिक गोपनीयताको कानुनी सीमा उल्लंघन गरेको हो वा होइन, र पत्रकारितासम्बन्धी विवादको निरूपण आपराधिक अनुसन्धानसँगै कसरी अघि बढ्ने हो।
लोकप्रिय
ताजा अपडेट
पत्रकार पक्राउपछि सांसद पुष्पा चौधरीमाथि गम्भीर प्रश्नः तस्बिर सार्वजनिक गर्ने पीडत, समाचार लेख्ने अपराधी?

