सप्तरीः बिहेमा नाचिरहेकी १४ वर्षीया किशोरीलाई धकेल्दा जेनेरेटरमा टाउको ठोक्किएर मृत्यु, युवक पक्राउ
राजविराज— सप्तरीको बोदेबर्साइनमा बिहेको डिजेबाजा बजिरहेको ट्याक्टरमा नाचिरहेकी १४ वर्षीया किशोरीलाई धकेलेपछि जेनेरेटरमा टाउको ठोक्किएर मृत्यु भएको घटनामा प्रहरीले फरार आरोपितलाई पक्राउ गरेको छ। गम्भीर घाइते भएकी किशोरीको उपचारका क्रममा मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार किशोरीको हत्या आरोपमा बोदेबर्साइन नगरपालिका–१ महनौरी टोलका करिब २० वर्षीय गोबिन्दा भन्ने गजेन्द्र नारायण यादवलाई प्रहरीले साउन २६ गते सोही वडाबाट पक्राउ गरेको हो। घटनापछि फरार रहेका यादवविरुद्ध सुरजकुमार पालको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कडरबोनामा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटना २०८२ मंसिर ११ गते राति करिब ११ बजे भएको थियो। जाहेरीअनुसार करिब १४ वर्षीया खुश्बु पाल बिहेको डिजेबाजामा ट्याक्टरमा नाचिरहेकी थिइन्। सोही क्रममा मादक पदार्थ सेवन गरेका यादव पनि ट्याक्टरमा चढेका थिए।
खुश्बुलाई जिस्काउने क्रममा यादवले ट्याक्टरभित्रै उनलाई धकेलेको प्रहरीको विवरणमा उल्लेख छ। धकेलिँदा किशोरीको टाउको ट्याक्टरमा चलिरहेको जेनेरेटरमा ठोक्किएको थियो। टाउको ठोक्किएपछि उनको कपाल जेनेरेटरमा बेरिएको र गम्भीर चोट लागेर रक्ताम्य अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।
घाइते खुश्बुलाई तत्काल उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि उनलाई विराटनगरस्थित न्युरो अस्पताल हुँदै काठमाडौंको कीर्तिपुर अस्पताल लगिएको थियो।
उपचारका क्रममा स्वास्थ्य अवस्थामा केही सुधार आएपछि चिकित्सकले २०८२ पुस ४ गते उनलाई डिस्चार्ज गरेका थिए। परिवारले घरतर्फ ल्याउँदै गर्दा उनको स्वास्थ्यमा पुनः समस्या देखिएपछि लहानस्थित प्रादेशिक अस्पताल लगिएको थियो।
प्रहरीका अनुसार पुस ५ गते बिहान करिब साढे १ बजे उपचारकै क्रममा खुश्बुको मृत्यु भएको हो। घटनापछि यादव फरार रहेको र प्रहरीले उनको खोजी गरिरहेको थियो। लामो समयपछि साउन २६ गते बोदेबर्साइन नगरपालिका–१ मै फेला पारेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पक्राउ परेका यादवलाई अदालतबाट अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको छ। सप्तरी जिल्ला अदालतबाट म्याद थप भएसँगै प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी हेमराज घिमिरेका अनुसार घटना ज्यानसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ। प्रहरीले घटनामा किशोरीलाई धकेलिएको, त्यसपछि जेनेरेटरमा टाउको ठोक्किएर गम्भीर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको विवरण सार्वजनिक गरेको छ।

