शम्भुनाथमा तीन वर्षीया बालिकाको मृत्यु प्रकरणमा सौतेनी आमा पक्राउ, घरेलु विवादको कोणबाट अनुसन्धान
राजविराज — सप्तरीको शम्भुनाथ नगरपालिका–३, ट्राफिक चोकमा तीन वर्षीया खुशी खातुन मृत भेटिएको घटनामा प्रहरीले उनकी सौतेनी आमा मुस्कान खातुनलाई पक्राउ गरेको खुलेको छ। घरायसी विवादको पृष्ठभूमि देखिएपछि मुस्कानको संलग्नताको कोणबाट अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
मोहम्मद इरफानकी छोरी खुशी आइतबार बिहान घरअगाडिबाट हराएकी थिइन्। खोजीका क्रममा दिउँसो घरको पछाडिपट्टि रहेको झाडीमा उनी घोप्टो परेको अवस्थामा मृत फेला परेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानमा परिवारभित्रको विवादसमेत देखिएको छ। सोही आधारमा मुस्कानलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
‘उहाँहरूबीच घरायसी विवाद रहेको देखिन्छ,’ डीएसपी घिमिरेले भने, ‘बालिकाकी सौतेनी आमा मुस्कान खातुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।’ खुशीकी आमा रुबिना खातुनले भने मुस्कानले नै बालिकाको हत्या गरेर झाडीमा फालेको दाबी गरेकी छिन्। यद्यपि, प्रहरीले उक्त दाबी पुष्टि गरिसकेको छैन। घटनाको वास्तविक कारण र मृत्युको प्रकृति अनुसन्धान तथा पोस्टमार्टमबाट खुल्ने प्रहरीले जनाएको छ।
परिवारका अनुसार खुशी आइतबार बिहान करिब पौने १० बजेसम्म पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको घरअगाडि खेलिरहेकी थिइन्। त्यसपछि उनी अचानक बेपत्ता भएकी थिइन्। बालिका नभेटिएपछि परिवारले इलाका प्रहरी कार्यालय रुपनीमा खबर गरेको थियो। त्यसपछि प्रहरी, परिवारजन र स्थानीयले संयुक्त रूपमा खोजी थालेका थिए।
खोजीका क्रममा घरबाट पछाडिको झाडीमा बालिका मृत अवस्थामा फेला परेकी हुन्। घटनास्थलबाट शव नियन्त्रणमा लिएर प्रहरीले पोस्टमार्टमका लागि पठाएको जनाएको छ। बालिकाका बुवा मोहम्मद इरफान वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनालाई शंकास्पद मृत्युका रूपमा लिएर अनुसन्धान अघि बढाएको छ। नियन्त्रणमा रहेकी मुस्कानमाथि आरोप पुष्टि भइसकेको छैन। प्रहरीले घटनासँग सम्बन्धित प्रमाण, पारिवारिक पृष्ठभूमि र बालिकाको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।

