सालीसँग विवाह गर्न श्रीमतीको हत्या गरी मोटरसाईकल दुर्घटनाको नाटक गर्ने मुखियाको पोल खुलेपछि…
राजविराज– दोस्रो विवाह गर्ने हतारोले श्रीमतीको हत्या गरी कारवाहीबाट बच्न मोटरसाईल दुर्घटनाको नाटक गर्ने सप्तरीको रूपनी गाउँपालिका–३ हर्दियाका ३८ वर्षिय हरेराम मुखिया पक्राउ परेका छन्।
भदौ २८ गते राति रुपनी राजविराज सडकखण्डमा भएको उक्त घट्नाको एक महिनापछि प्रहरीले मुखियालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार २८ गते राती करिव ११ बजे रूपनी गाउँपालिका–१ स्थित विद्युत कार्यालय नजिकै स४प ५७६० नम्बरको मोटरसाइकल र मुखिया सडकमा लडेको र उनकी श्रीमती ३७ वर्षीया शिलावती मृत अवस्थामा फेला परेका थिए। मुखियालाई भने चोटपटक नलागे पनि घाईते भएको भन्दै अस्पताल भर्ना भएका थिए।
अस्पताल भर्ना भएका हरेराम घाइते नरहेको भन्दै चिकित्सकहरूले उति वेला नै आशंका गरेका थिए भने मोटरसाइकल र मोटरसाइकलमा बाँधिएका घरायसी सामान क्षति नभएको र मुखियालाई चोटपटक नलागेको भन्दै स्थानीयवासीले घटना शंकास्पद रहेको बताएका थिए।
मोटरसाईकल र मोटरसाईकलमा बाँधिएको सामानमा क्षति नहुनु, मोटरसाइकल लडेको बलौटे ठाउँमा गम्भीर चोट लाग्ने अवस्था नहुन, मृतकभन्दा २० फिट टाढा रगत लागेको ढुंगा भेटिनु लगायतले स्थानीयहरुले हत्या हुन सक्ने आशंका गरेका थिए।
फेसबुकमा समेत घट्ना शंकास्पद भनेर लेखे। तर, जिल्ला प्रहरी कार्यालयले तत्काल प्रेस विज्ञप्ति जारी गरेर दुर्घटनामा महिलाको मृत्यु र उनका श्रीमान घाइते भनेर जनाएको थियो। प्रहरीले दुर्घटनामा मृत्यु भनेपछि मृतककी आमा सिरहाको लहानकी देबसुनैर मलाहाले हत्या भएको जिकिर गरिन।
हरेरामले पछिल्लो समय आफनी छोरीसँग पटक–पटक झगडा गरी कुटपिट गर्ने गरेको र धेरै पटक प्रहरी कार्यालयमा छलफल पनि भएको भन्दै उनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएकी थिइन। श्रीमती काली÷नराम्री भई भनेर झगडा गरिरहने हरेरामले आफन्तमै साली नाता पर्ने युवतीसँग विवाह गर्न शिलावतीको हत्या गरेको हुन सक्ने सम्भावना देखियो।
त्यसपछि घट्नाको अनुशन्धान थालेको प्रहरीले मुखिया दम्पति घरायसी सामान खरिद गर्न सीमावर्ती भारतको भीमनगर गएको पत्ता लगायो । भिमनगरबाट रूपनी पुग्न मुखियाले ५ घण्टा लगाएका थिए। जानकारहरूका अनुसार मोटरसाइकलमा भिमनगरदेखि रूपनी पुग्न एक घण्टा समय मात्र लाग्छ।
मुखियाले सप्तरीभन्दा बाहिरै बाटोमा श्रीमतीलाई मार्न धेरै ठाउँमा मोटरसाइकल रोकेको तर प्रयास सफल नभएपछि रूपनी नजिक आएर सुनसान रातको समयमा घटना गरेको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरीले मुखिया विरुद्ध हत्या गरी नाटक गरेका आरोपमा उजुरी दर्ता गरी अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले जनाएको छ।