ओली बारे प्रचण्डको खुलासाः उनी रियल एमाले होईनन्

काठमाडौं– प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली रियल एमाले नभएको खुलासा गरेका छन्। धनगढीमा आज समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्वोधन गर्दै उनले ओलीबारे यस्तो खुलासा गरेका हुन।

‘अहिले एमालेको नेतृत्व जसले गरेको छ उहाँ रियल एमाले होइन, उहाँ संघीयतावादी, गणतन्त्रवादी होइन’ उनले भने। माओवादी जनयुद्धमा हुँदा एमालेको अहिलेको नेतृत्व भएको भए अहिलेको परिवर्तन सम्भव नै थिएन, भन्दै उनले अहिले पनि जनताको उपलब्धि गुम्ने खतरामा रहेको दावी गरे।

‘परिवर्तन उल्टाउन चाहने शक्तिलाई परास्त गर्छौं । त्यसको लागि हामी एक ठाउँमा आउनु पर्छ’, उनले भने, ‘संविधान मिचेर संसद् विघटन गर्ने र प्रतिगमनतर्फ लैजाने डरलाग्दो प्रयास भएकै थियो । हामीले नै त्यो षड्यन्त्रलाई परास्त गरेका थियौं अदालतले पनि जनताको कुरा सुनेर संसद् पुनर्स्थापना ग¥यो । अहिले पनि त्यो कोसिस भइरहेको छ ।’

दाहालले कोशीमा दोहो-याएर एमालेले चलखेल गरेको भन्दै त्यहाँ करेक्सन गरेरै छाड्ने बताएका छन्। कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीसँग विश्वासको मत लिनुअघि कांग्रेसको एकजना मात्रै मन्त्री बनाउने केन्द्रमा सहमति भएपछि एमालेले चलखेल गरेर आफ्नो मन्त्री छिराएको उनको आरोप छ।

‘एमालेले गरेको चलखेल त रोकियो भनेको हिजो फेरि अर्को चलखेल भयो। हामीले भनेका थियौं, नेपाली कांग्रेसको एकजनामात्रै मन्त्री बनाउने भनेर भनेका थियौं विश्वासको मत लिनुअघि,’ प्रधानमन्त्रीले भने, ‘फेरि त्यहाँ चलखेल भएछ। एमालेको पनि मन्त्री बनाइएछ। आज फेरि हामी त्यसलाई करेक्सन गर्दैछौं। करेक्सन त हुन्छ। यही गठबन्धनले जित्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट