सहकारीको पैसामा अध्यक्षको रजाईँः ६५ ठाउँमा निजी जग्गा र ल्यान्डक्रुजर खरिद

काठमाडौं– ललितपुरको सातदोबाटो स्थित देउराली सहकारीका कार्यकारी अध्यक्ष रविन्द्र चौलागाई संस्थाको वचत रकम हिनामिना गरेको आरोपमा पुर्पक्षका लागि थुनामा छन्। अदालतले उनलाई एक साताअघि कारागार पठाएको हो।

ललितपुरको सातदोबाटोमा १० वर्ष अघिदेखि देउराली सहकारी चलाउँदै आएका चौलागाई विगतमा जग्गाको कारोबारबाट पैसा कमाएका थिए। कोभिड महामारीपछि कारोवार सुस्त भएपछि उनी समस्यामा परे। उनले संस्थाको रकम नियमविपरीत निजी जग्गामा लगानी गरी मुनाफा कमाउन खोज्दासहकारीसमेत डुबाएको अनुशन्धानमा देखिएको छ।

सहकारी प्रकरण चर्किएपछि दीपक केसी र राजेन्द्र खत्रीसहित चौलागाई सिआइबीको चंगुलमा परे। उनीहरु विरुद्ध मुद्दा दायर भयो। पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत ललितपुरले गत साता थुनामा पठाएको छ।

प्रहरीले चौलागाईंले संस्थाको रकम हिनामिना गरी ६५ स्थानमा १०३ रोपनी जग्गा जोडेको फेला पारेको छ। उनको आफ्नो नाममा मात्र २० स्थानमा ५३ रोपनी जग्गा छ। श्रीमती पूजा खत्री र उनको संयुक्त नाममा २ ठाउँमा ४ रोपनी र पूजाको नाममा २१ ठाउँमा ८ रोपनी जग्गा छ।

यसैगरी, दीपक केसीको नाममा १० स्थानमा ६ रोपनी, जेठान राजेन्द्र खत्रीको नाममा १७ स्थानमा २८ रोपनी र मनोज भण्डारीको नाममा तीन स्थानमा ३ रोपनी जग्गा खरिद गरेको भेटिएको छ।

अधिकांश जग्गा लामाटार, नंखेल, हरिसिद्धि, सैँबु, सुनाकोठी, खोकना, धापाखेल, काठमाडौंको मच्छेगाउँ, भक्तपुरको मध्यपुर ठिमी, झापाको शिवगन्ज र काभ्रेको पाँचखालमा भेटिएको छ।

उनले थ्री बदर्स मार्केटिङ, पूजा ट्रेड इन्टरनेसनल, देउराली प्रपर्टिज्, पूजा ट्रेडिङ एन्ड मार्केटिङ, पिआरपी ट्रेडिङ, करिअर मार्केटिङ, आरके मोटर्स, एसडी एग्रिकल्चरलगायत २४ कम्पनी खडा गरी तीनै कम्पनीको नाममा जग्गा खरिद गरेर बैंकबाट कर्जा समेत लिएको सिआइबीले जनाएको छ।

बैंकको कर्जासमेत उनले तिरेका छैनन। सहकारीका ठूला निक्षेपकर्तालाई यिनै जग्गा दिएरसमेत उनले फकाउँदै आएका थिए। सहकारीकै रकमबाट टोयोटाको ल्यान्डक्रुजर गाडीसमेत खरिद गरेको पाईएको छ। त्यो गाडी प्रहरीले बरामद गरेको छ भने भेटिएको सवै जग्गा सीआईबीले रोक्का गरेको छ।

प्रहरीले रवीन्द्रकी श्रीमती पूजासहित ११ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । महेश देउला, मनोज भण्डारी, मनोहर बस्नेत, आशालाल महर्जन, सुमन महर्जन, अस्मिता खत्री, गोवर्धन थापा, राजु महर्जन, नारायणमौसक कुँवर र विकास महर्जनलाई फरार छन्।

संस्थामा दुई अर्ब ५५ करोड निक्षेप देखिएको छ। यता, ६६ करोडको जाहेरी परेपछि त्यहीअनुसार बिगो कायम गरी मुद्दा दायर गरेकोमा त्यसपछि पनि थप जाहेरी आइरहेको सिआइबीका एसपी नवराज अधिकारीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट