खोटाङकी युट्युबर सिक्किममा पक्राउ, मुख्यमन्त्रीको ठाडो आदेशमा पक्राउ गरिएको आरोप

काठमाडौं– खोटाङकी युट्युबर उमा चाम्लिङ राईलाई साम्प्रदायिक अशान्ति फैलाएको आरोपमा शनिवार सिक्किमको सदर थाना प्रहरी चौकीले पक्राउ गरेको छ।

उनीविरूद्ध सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकी सदस्य शिला राईले प्रहरीमा उजुरी दिएकी थिइन्। सन् २०२४ मा हुने विधान सभा चुनाव नजिकँदै गर्दा सिक्किमवासीबीच साम्प्रदायिक अशान्ति फैलाएको उनीमाथि आरोप छ।

उनले शनिबार पश्चिम सिक्किमको लेक्सेपमा राई समुदायले आयोजना गरेको साकेला उत्सवको प्रचार गर्दै भिडियो पोस्ट गरेकी थिइन्। त्यही आधारमा उनलाई मुख्यमन्त्री पीएस गोलेको ठाडो निर्देशनमा पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।

उमाले केही दिन अघि सामाजिक सञ्जालमा भिडिओ हाल्दै सिक्किममा रहेका राई समुदायहरू आफ्नो अधिकारका लागि एकजुट हुनुपर्ने बताएको पनि पिटिआईले समाचारमा उल्लेख गरेको छ।

उनले सिक्किममा प्रवेश गर्दा लिनुपर्ने इन्नर लाइन पर्मिट पनि नलिएको आरोप छ। ६ दिनअघि उनले पूर्वमुख्यमन्त्री पवन कुमार चाम्लिङसँगको तस्बिर सामाजिक सञ्जालमा साझा गरेकी थिइन्। सिक्किमको प्रमुख प्रतिपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले सत्तारुढ दलविरुद्ध भ्लगर चाम्लिङलाई प्रयोग गरेको आरोप सत्ता पक्ष दलले लगाएको छ।

सत्तारुढ पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का एक नेताले भने,‘चुनावको मुखमा विपक्षीले नेपाली भ्लगरलाई प्रयोग गरेर साम्प्रदायिक हिंसा भड्काउन खोजेको पाइयो।’

प्रहरीले राईलाई अदालतमा समेत उपस्थित गराइसकेको छ। उनलाई अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उनलाई गैरकानुनी गतिविधि रोकथाम ऐन (यूएपीए) अन्तर्गत मुद्दा दायर गरिएको जनाइएको छ।

यसैबीच, सिक्किम प्रोग्रेसिभ युथ फोरमलगायतका संघसंथाले भ्लगर चाम्लिङलाई सिक्किम सरकारले झुटो आरोप लगाएर गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट