१८ बर्ष अघि माओवादी छापामारले सुन्दरीजल कारागारबाट बुबाआमालाई लेखेको पत्र

राजविराज– गणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन माओवादीले १ फागुन ०५२ मा सुरु गरेको सशस्त्र जनयुद्ध सवैको मनमा ताजै छ।

अझ जो उक्त युद्धमा सहभागि भए वा युद्धका कारण पीडित भए उनीहरुले त यसलाई चाहेर पनि भुल्न सकेका छैनन्। जनयुद्ध दिवस आउनै लाग्दा नेकपा माओवादीका तत्कालिन छापामार (सिरहा जिल्ला इन्चार्ज) सुर्यनाथ यादव (सुभास) ले पनि माओवादीमा लागेकै कारण भोग्नु परेको सास्तीलाई सम्झना गरेका छन्।

उनले १८ वर्षअघि सुन्दरीजल कारागारबाट सप्तरीमा रहेका आफना बुबाआमालाई लेखेको पत्र फेसबुकमा शेयर गर्दै लेखेका छन्–‘२०६२/६/२ लगभग १८ बर्ष पहिले सुन्दरीजल अनुसन्धान गृह (कारागार) बाट बुबा/आमालाई लेखेको पत्र आज कागजात मिलाउने क्रममा फेला परेछ। जस्को मसी लेपिएको अक्षर मेटिएको भएता पनि भाव ताजै जस्तो लाग्यो।’

उनका अनुसार तत्कालिन शाही नेपाली सेनाले आतंककारीको आरोप लगाउँदै उनीसहित ३ जनालाई सिरहाको तत्कालिन कचनारी गाविस (हालः बरियारपट्टी गाउँपालिका) बाट पक्राउ गरेको थियो। त्यसबखत पक्राउ परेका एक जना छापामार हाल नेपाल सरकारका वहालवाला मन्त्री छन्।

माओवादी केन्द्रको केन्द्रीय सदस्य रहेका यादवका अनुसार उनीसहित तत्कालिन सिरहा जिल्ला सेक्रेटरी अशोककुमार मण्डल (अमर) र चोमोलोङ्मा सांस्कृतिक परिवारका कलाकार (हाल नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री) सुदन किरातीसहित तीन जनालाई २१ फागुन ०६० मा नेपाली सेनाले पक्राउ गरेको थियो।

यादव, मण्डल, राई र अर्का राजकुमार साह सिन्धुलीमा आयोजित प्रशिक्षण कार्यक्रममा जाँदैथिए। वाटो परेकाले उनीहरु कचनारी स्थित सम्पर्क स्थानमा पुगेर जाने मनसायले त्यता लागे। जहाँ  २०५९ कार्तिकमा ओखलढुंगाको रुम्जाटार विमानस्थलमा भएको आक्रमणका घाईतेलाई राखिएको थियो। ‘त्यो स्थानका बारेमा सेनाले सूचना पाईसकेको रहेछ। सेनाले आक्रमण गर्दैछ भन्ने जानकारी पाएपछि घाईतेसहित अन्य साथीहरु भागेछन्।’ यादव भन्छन्–‘सेनाले पुरै एरिया घेरेको रहेछ, हामी पुगेपछि समाति हाल्यो। तर, राजकुमार साह भने भाग्न सफल भए।’

पक्राउ परेका उनीहरुलाई सिरहाकै चोहर्वा ब्यारेकमा लगेर राखियो। त्यहाँबाट ईटहरी ब्यारेक हुँदै विराटनगर एयरपोर्टबाट दमक लगियो। दमक हुँदै काठमाण्डौं विमानस्थलमा एक साता राखेपछि सुन्दरीजल कारगारमा पुर्याएको उनी सम्झन्छन्। पटक–पटक गरी १८ महिना सुन्दरी जल कारागारमा वसेका उनले सोही समयमा उक्त पत्र वुबाआमालाई लेखेका हुन।

पछि ०६२/०६३ को जनआन्दोलनपछि ०६३ असार १० गते आफु जेल मुक्त भएको यादव सुनाउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट