बाटो छेकेर उभिएको भुतलाई जव केपी ओलीले भाटा हाने…

काठमाण्डौं– प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय च्यासलमा शनिबार आयोजित एक कार्यक्रममा ‘भुतलाई भाटा हानेको’ बताएका छन्।
साहित्यकार नेत्रप्रसाद गौतमका तीनवटा कृतिहरू विमोचन समारोहमा बोल्दै ओलीले आफु गाउँमै हुँदाको घट्ना स्मरण गर्दै रातको समयमा लाठीले भुत कुटेको वताए।
‘मेरो घरभन्दा ५ मिनेट जतिको बाटो थियो। सधैं म बेलुका त्यही बाटो हिँड्थे। एक दिन मेरो अगाडि ठ्याक्कै सेतो कपडा लगाएर भूत खडा भयो। म भन्दा निकै अग्लो। बाटो छेकेर उभियो। अचम्म लाग्यो कसरी भूत आयो’ ओलीले भने–‘त्यतिबेला हामी राति विभिन्न आइपर्न सक्ने समस्यासँग जुध्न बाँसको डण्डी टेकेर हिँड्ने गर्थ्यौं। अनि मैले बाटो छोड् भनेँ, भूतले टेरेन। बरु मै तिर पो ढल्किन खोज्छ।’
ओलीले आफु भौतिकवादी भएर भूत हुँदैन भन्दाभन्दै आफ्नै अगाडि भुत आएको सुनाए। ‘आफ्नै अगाडि आएपछि कसरी नपत्याउनु!’ उनले थपे–‘त्यसपछि घुमाएर बाँसको डण्डाले हानेको सर्ल्याङ्ङ गर्यो। यसो हेरेको त काँसको बुटो। फुलेको काँसको झुप्पा रहेछ।’
उनले ‘भूत छ’ भन्ने मान्यता बनाएर मानिस आफैं डराएको टिप्पणी गरे। जंगलमा बस्ने जीवजन्तु अन्य जनावरसँग डराए पनि भूतसँग कहिलै नडराउने ओलीले वताए। ‘जब भूतप्रेत, मसान, मुर्कट्टा केहीले पनि एउटा मुसाको बच्चा त खान सक्दैन। एउटा मच्छड, झिँगा त खान सक्दैन भने मान्छेलाई कसरी खान्छ?’ उनले थपे–‘मान्छे आफैंले भूतको मान्यता बनायो अनि आफैं डरायो।’