भोजमा माछा नदिएको विषयमा कुटाकुट हुँदा रद्द भएको विवाह एक सातापछि सम्पन्न
वीरगन्ज– पर्साको विन्दवासिनीमा माछा खान नदिएको विवादले कुटाकुट हुँदा भाँडिएको विवाह एक सातापछि (२८ फागुन) सम्पन्न भएको छ। गत सोमबार माछाको विषयमा वेहुला र वेहुली पक्षबीच हानाहान हुँदा विवाह भाँडिएको थियो।
सखुवा प्रसौनी गाउँपालिकाको महुवनका वेहुला जन्ती लिएर बिन्दबासिनी गाउँपालिका–४ को मधवल टोलमा पुगेका थिए। स्थानीयका अनुसार जन्ती पुगेपछि खाना खाने क्रममा माछा नखुवाएको विषयमा भनाभन भयो। विवाद वढ्दै जाँदा कुटाकुट भएपछि बेहुलाका बुबा घाइते भए।
कुटाकुट सुरु भएपछि अधिकांश जन्ती भागेर गाउँ फर्किए। बेहुलालाई भने वेहुली पक्षले बन्धक वनायो। इलाका प्रहरी कार्यालय पोखरियाले वेहुलालाई उद्वार गर्यो। मंगलबार दुवै पक्षबीच प्रहरी कार्यालयमै छलफल भयो तर, बेहुलीले बिवाह गर्न अस्वीकार गरिन।
वेहुली नै विवाहका लागि तयार नभएपछि बेहुला आफ्नो घर फर्किए। यतिमै कुरा सकिएन। वेहुली पक्षले दाइजोमा दिएको १२ लाख रुपैयाँ वेहुला पक्षसँग माग्न थाल्यो। बिवाहमा खर्च भएको भन्दै वेहुला पक्षले पैसा नदिने निर्णय सुनायो।
त्यसपछि यस विषयमा गाउँमा लगातार छलफल हुन थाले। कोही विवाह गराउने पक्षमा लागे भने कोही विवाह नगर्ने पक्षमा वकालत गरिरहे। तर, अन्तिम समयमा पुनः विवाह गर्ने विषयमा दुवै पक्ष सहमत भए। सहमति अनुसार २८ फागुनको राती बिवाह पुनः विवाह सम्पन्न भएको स्थानीयले जानकारी दिएका छन्।