इन्स्पेक्टर बनेर प्रहरी कार्यालयमै ‘सेटिङ’को धन्दा ! थुनुवालाई छुटाउन दुई लाख माग्ने पाँच जना पक्राउ
काठमाडौँ– आफुलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) भएको भन्दै पक्राउ परेका व्यक्ति छुटाइदिने आश्वासन दिई दुई लाख रुपैयाँ मागेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ वीरेन्द्र चोकबाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा ओखलढुंगाको मोलुङ गाउँपालिका–२ घर भई काठमाडौंको चाबहिल बस्ने ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका–१ घर भई काठमाडौंको कपन बस्ने २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाको तानसेन नगरपालिका–६ घर भई काठमाडौंको हात्तीडाँडा बस्ने ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भई भक्तपुरको दुवाकोट बस्ने २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीको मरिण गाउँपालिका–२ घर भई काभ्रेको बनेपा बस्ने ३० वर्षीय हर्कसिंह भोलन छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत कात्तिक १० गते प्रहरी प्रभाग काँडाघारीले एक व्यक्तिलाई सोधपुछका लागि बोलाएको थियो। ती व्यक्तिलाई भेट्न उनका भाइ प्रहरी कार्यालय पुगेका थिए। त्यही क्रममा प्रहरी कार्यालय आसपास भेटिएका एक युवकले आफू प्रहरी निरीक्षक भएको परिचय दिँदै दाजुलाई मुद्दा नचलाइ छुटाइदिने प्रलोभन देखाएका थिए।
त्यसका लागि दुई लाख रुपैयाँ व्यवस्था गर्नुपर्ने भन्दै ती युवकले होटलमा गरेको खर्चसमेत तिरिदिन भनेका थिए। प्रहरीको परिचय दिएर मुद्दा प्रभावित पार्न सक्ने आश्वासनसहित रकम मागिएपछि ती व्यक्तिका भाइले पैसा दिन अस्वीकार गरे।
रकम दिन नमानेपछि उनीहरूले विभिन्न धाकधम्की दिएको र मानसिक तथा आर्थिक तनाव सिर्जना गरेको भन्दै उजुरी परेको प्रहरीले जनाएको छ। सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै पाँच जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरी कार्यालयमा सोधपुछका लागि बोलाइएका व्यक्तिलाई छुटाइदिने नाममा रकम मागिएको घटनाले प्रहरीको नाम र पदको दुरुपयोग गरी सर्वसाधारणलाई प्रभावित पार्ने प्रयास भएको देखाएको छ। प्रहरी कार्यालय आसपासमै आफूलाई इन्स्पेक्टर बताउँदै रकम मागिएको आरोप सार्वजनिक भएपछि प्रहरी परिचयको दुरुपयोग र त्यसमार्फत गरिने ठगी प्रयासमाथि पनि प्रश्न उठेको छ।
पक्राउ परेका पाँचै जनामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
लोकप्रिय
चार वर्षको ठेक्का, ६ महिना बाँकी हुँदा ३ प्रतिशत मात्रै काम ! ठेकेदारलाई जेलमा राख्न मन्त्रीको निर्देशन

