एक दिनअघि जिप दुर्घटनामा पति गुमाएकी शान्तिले पनि प्राण त्यागिन

काठमाडौं– एक दिनअघि सडक दुर्घटनामा पति गुमाएकी बाँकेको बैजनाथ गाउँपालिका–८ की शान्ति चौधरी (लौटी) को पनि मृत्यु भएको छ। उपचारका क्रममा रहेकी शान्तिको आज मृत्यु भएको वैजनाथ ८ का अध्यक्ष भगन थारुले वताए।
भारतको उत्तराखण्डस्थित नैनितालको उचाकोटमा सोमवार राती जिप दुर्घटना हुँदा एउटै वडा (वडा नं. ८) का ७ जनाले ज्यान गुमाएका थिए। घाईते रहेकी शान्तिको मृत्युसँगै मृतकको संख्या ८ पुगेको छ।
शान्तिका पति बैजनाथ गाउँपालिका–८ फतेहपुरका धिरज चौधरी (रामधिरज)ले सोमबार राति नै ज्यान गुमाएका थिए। उनीहरू मजदुरी गर्न पुसमा भारत गएका थिए। नयाँ वर्षका लागि घर फर्किँदा नेपाली श्रमिक सवार जिप दुर्घटनामा परेको थियो।
दुर्घटनामा बैजनाथ गाउँपालिका–८, फतेहपुरकै उदयराम चौधरी, शक्तिनगरका अन्तराम चौधरी (आटाराम) र विश्राम चौधरी, थपुवाका विनोद चौधरी र तिलकराम चौधरी तथा बर्दियाको बाँसगढी नगरपालिका–१ बबईका टोपबहादुर बस्नेतको मृत्यु भएको छ।
दुर्घटनामा जिप चालक नैनितालकै राजेन्द्र कुमारको पनि मृत्यु भएको थियो। घाइते छोटु चौधरीको उपचार भइरहेको छ। मृतकको शव बुझ्न परिवारका सदस्य नैनिताल पुगिसकेका छन्।