वम विष्फोटका घाईतेलाई इटाभट्टामा हुत्याएर हत्याः कसुर प्रमाणित, अफताव आलमलाई जन्मकैद

रौतहट — हाइप्रोफाइल मानिएको ‘राजपुर बम बिस्फोट घट्नाको मुद्दा’ घटनामा १७ बर्षपछि किनारा लागेको छ। जिल्ला अदालत रौतहटले बिहिवार कांग्रेस नेता मोहम्मद अफताव आलम र उनका भाईसहित ४ जनालाई जन्म कैदको सजाय सुनाउँदै यो मुद्दाको किनारा लगाएको हो।

अदालतले इटाभट्टामा जिउँदै मान्छे पोलेर हत्या गरेको घट्नामा कसुरदार ठहर गर्दै कांग्रेस नेता आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई जन्मकैदको फैसला सुनाएको छ।

न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले अभियुक्त बनाइएका मुक्ति साहलाई भने सफाइ दिएको छ। मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मालाकार फरार रहेकाले उनीहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए।

पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन (२७ चैत ०६४) राति रौतहटको राजपुरस्थित अफताब आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा केही व्यक्ति घाइते भएका थिए। बिस्फोटमा घाईते भएकाहरुलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोग नेता आलम र उनका भाइसहित ११ जना विरुद्ध थियो।

सोही घटनामा प्रहरीले मुद्दा नचलाएपछि पीडित परिवार न्याय माग्दै विभिन्न निकायमा धाएका थिए । पछि सर्वोच्च अदालतको निर्देशनात्मक आदेशबाट उक्त घटनाको पुनः अनुसन्धान हुँदै १८ कात्तिक ०७६ मा मुद्दा दर्ता भएको थियो।

त्यतिबेला बम बनाउँदै गर्दा विस्फोट भएपछि उक्त विस्फोटमा परी मृत्यु भएका स्थानीय पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएकामा आलमले घाइते अवस्थामै रहेका उनीहरूलाई इटाभट्टामा जिउँदै जलाएको अभियोगपत्रमा उल्लेख छ।

उक्त मुद्दामा नेता आलम २६ असोज ०७६ मा पक्राउ परेका थिए। जिल्ला अदालतले आलमलाई २९ कात्तिक ०७६ मा पुर्पक्षका लागि कारागार चलान गरेको थियो। त्यसयता उनी नख्खु कारागारमा थुनामा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट