पूर्वराज्य मन्त्री रामचन्द्र रायको हत्या, बाँसघारीमा भेटियो हतियार, हत्यारा फरार

जनकपुर– पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ स्थित घरमा गएराती अज्ञात समूहले टाउकोमा धारिलो हतियार प्रयोग गरी रायको हत्या गरेको हो।
८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए। उनको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको सर्लाहीका डिएसपी दीपक श्रेष्ठले वताए।
रगतले लतपतिएको अवस्थामा रायको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घरका कामदारले राती उनीसँग भेट गर्न तीन जना व्यक्ति आएको र सँगै सुतेका बताएका छन्। हत्यापश्चात उनीहरू फरार रहेको घरका कामदार रामउजैन रायले वताए।
रायमाथि प्रहार भएको उखु काट्ने घरेलु हतियार घर नजिकै रहेको बाँसघारीमा बरामद भएको छ। उक्त हतियार मन्त्री रायकै घरको हो।
राय २०५४ सालमा सूर्यबहादुर थापाको प्रधानमन्त्रीकालमा भूमिसुधार राज्यमन्त्री बनेका थिए। उनी राप्रपाको गत महाधिवेशनमा उपाध्यक्ष उम्मेदवारसमेत थिए। मृतक राय तीन दाजुमध्ये माइलो हुन। उनका श्रीमती २ छोरा र ५ छोरी छन्।