प्राकृतिक बासस्थानमा सिकार गर्न नसकेर भारतबाट नेपाली वस्तीमा पसेको थियो हिरालाई खाने बाघ

काठमाण्डौं– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ की २६ वर्षीया हिरा शाहलाई खाएको करिव १४ वर्षको बुढो बाघ भारतबाट नेपाल पसेको खुलेको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरका अनुसार बाघको उमेर सरदर १५ वर्ष मानिन्छ। २८४ सेन्टिमिटर लम्बाइ र काँधको उचाइ १२२ सेन्टिरमिटर रहेको यो भाले बाघको उमेर १२–१४ वर्ष अनुमान गरिएको छ।
बाघको पछाडिका दायाँ खुट्टाको तिघ्रामा घाउ छ। घाउमा कीरा परिसकेको पाईएको छ। अगाडिको दायाँ पञ्जाका २ र बायाँ पञ्जामा १ नंग्राविहिन छ। रङ पनि खुइलिएको बाघका माथिका टोक्ने २ वटा दाह्रा हल्लिएका र अन्य दाँत खिइएका छन्।
प्राकृतिक बासस्थानमा सिकार गर्न नसकेर वा त्यहाँ अन्य बाघको आक्रमणमा परेर आहाराको खोजीमा यो बाघ मानव बस्तीमा पसेको हुनसक्ने अनुमान छ। सीमावर्ती भारतीय जंगलबाट बाघ बस्तीमा पसेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत ऐर बताउँछन्।
भारतको पिलिभितलगायत उत्तरप्रदेश क्षेत्रमा उखुबारीमा बाघ पाइन्छ। जसलाई ‘सुगर क्यान टाइगर’ भन्ने गरिएको छ। घर नजिकैको खेतमा घाँस काटिरहेकी हिरालाई आक्रमण गरेपछि यो बाघ विहिबारदेखिनै करिब १० बिगाह क्षेत्रफलमा फैलिएको उखुबारीमा लुकेर वसेको थियो।
शुक्रबार ५ वटा हात्ती (पिपरैया पोस्टका सिद्धप्रसाद र नारायणप्रसाद, शुक्ला पोस्टका सुर्तीकली र लबप्रसाद तथा शुक्लाफाँटाको मालुमेला पोस्टका रुपकली नामका हात्ती) सहितको प्राविधिक टोली खटिएर डार्ट गनको प्रयोग गरी वेहोस बनाएर बाघ नियन्त्रणमा लिईएको हो। २४ घण्टाको अथक प्रयासपछि मात्रै बाघ नियन्त्रणमा लिन सकिएको ऐरले बताए।
उखुबारीमा बस्ने बानी परेकोले नियन्त्रणमा लिन निकै मेहनत गर्नु परेको उनको भनाई छ।
आमा खोजिरहेका दुधे बालकलाई हिराको दुःखान्त कस्ले सुनाउने ?
विहिबार विहान खेतमा घाँस काटिरहेकी हीरालाई उखुबारीबाट आएको बाघले करिब ५० मिटर घिसारेर लगेको थियो। हिराको कपाल लुछिएको क्षतबिक्षत अवस्थामा शव फेला परेको थियो।
हीराको मृत्यु भएपछि परिवार अहिले विक्षिप्त छ। हिराका २ वर्षीय छोरा आमा खोजेर रोइरहेका छन्। उनलाई आमाको दुःखान्तका विषयमा जानकारी छैन। हीराका माइती बर्दियाबाट बिहीबार बेलुकै पुगेका छन्।
हीराले तीन वर्षअघि दोधारा चाँदनीका गोविन्दसँग बिहे गरेकी थिइन्। गोविन्द मजदुरीका लागि भारतको हिमाचल गएका थिए। वैशाखमा बुवाको बरखी सकेर उनी काम गर्न हिमाचल पुगेको जनाईएको छ। उनकी आमाको भने ७ वर्षअघि नै निधन भएको थियो।
आमा, बुवापछि उनले पत्नीवियोग पनि खेप्नु परेको छ। उनको परिवार २०५० सालमा दार्चुलाको गोकुलेश्वरबाट दोधारा चाँदनी झरेको थियो।