इटहरी उपमहानगरकी महिला अधिकृत झापा र सुनसरीका जनप्रतिनिधि र कर्मचारीको ७ करोड बढि रकम ठगेर फरार

इटहरी– सुनसरीको इटहरी उपमहानगरपालिकामा कार्यरत एक जना महिला अधिकृत झापा र सुनसरीका झण्डै २ सय जनाको ७ करोड रुपैयाँ भन्दा वढि ठगी गरी फरार भएकी छिन्। ठगिनेमा सेवाग्राही, जनप्रतिनिधि र सहकर्मी कर्मचारीसमेत छन्।
सुनसरीको सोनापुर निवासी छैटौँ तहकी अधिकृत सस्मिता लुइँटेल करोडौँ रकम ठगी गरी फरार भएकी हुन। करिव एक महिनादेखि उनी कार्यालयमा समेत नआएको महानगर स्रोतले जनाएको छ।
झापाको अर्जुनधारा नगरपालिकामा कार्यरत सस्मिता गत ६ भदौ ०८१ मा सरुवा भई इटहरी उपमहानगरपालिकामा आएकी थिईन। इटहरीमा उनी वडा नम्बर १७ र २० मा वडा सचिवको भूमिकामा थिईन। काम गर्ने क्रममा उनले इटहरी–१७ का जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी र उपमहानगरकै कर्मचारीहरूसँग घरव्यवहारका लागि भन्दै प्रतिब्यक्ति १ लाख देखि २४ लाखसम्म सापटी लिएकी थिईन्।
यसरी उनले सापटी भन्दै पैसा लिएका ब्यक्तिको संख्या झण्डै डेढ सय जनाभन्दा वढि रहे पनि हाल ४६ जना सम्पर्कमा आएको इटहरी उपमहानगरका कर्मचारी प्रशासन प्रमुख दिपक पौडेलले जानकारी दिए। उनीहरुले टिपाएको विवरण अनुसार ठगी भएको रकम दुई करोडभन्दा वढि छ।
लुईटेल विरुद्ध ३ जनाले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका छन्। इटहरीका विकास पौडेल, बिपिन भट्टराई र मोहन दङ्गालले उजुरी दिएपछि अधिकृत लुइँटेलको ठगी धन्दा बाहिरिएको हो। ती मध्ये लविपुरका बिपिन भट्टराईले पटक–पटक गरी आफुले २४ लाख रुपैयाँ दिएको तर, एक पैसा पनि फिर्ता नपाएको दाबी गरेका छन्। पैसा फिर्ता गर्न तागेदा गर्न थालेपछि लुँईटेल सम्पर्कविहिन भएको उनले गुनासो गरे।
पौडेलले आफूबाट ४ लाख ५० हजार रकम सापटी भनेर लगे पनि फिर्ता नगरेको बताएका छन्। २ माघ ०८१ मा उनले कृषि विकास बैङ्कको चेक दिएपनि बैङ्कमा पैसा नभएका कारण चेक बाउन्स भएको उनको गुनासो छ।
दङ्गाल भने उपमहानगरका सेवाग्राही हुन। नयाँ व्यवसायका लागि सर्जमिन गराउन कार्यालय पुगेका वेला घरायसी समस्या देखाएर लुँईटेलले आफुसँग २ लाख ५० हजार लिएको तर फिर्ता नगरेको उनको भनाई छ।
इटहरी उपमहानगरका कर्मचारी प्रशासन प्रमुख दिपक पौडेलका अनुसार कसैबाट ५ लाख, कसैबाट २५ लाख त कोहीबाट एक लाखसम्म रकम लिएर लुइँटेल सम्पर्कविहीन बनेको बताए। अहिले उनको मोबाइल नम्बर पनि स्विचअफ छ।
यता उजुरी परेसँगै प्रहरीले लुइँटेलको खोजी गरिरहेको छ। इन्स्पेक्टर महेन्द्र पराजुलीका अनुसार उपमहानगरसँग पनि समन्वय भईरहेको छ। लुईटेलले झापाको अर्जुनधारा, दमक र बिर्तामोडमा पनि यसैगरी ठगी गरेको प्रहरी स्रोत वताउँछ।
झामा लुईटेल विरुद्ध पक्राउ पूर्जीनै जारी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। विगत ३ महिनादेखि उनी झापा प्रहरीको फरारको सूचीमा छिन्। मातहतका प्रहरी कार्यालयहरूमा दर्जन बढी उजुरी परेपछि छलफलका लागि बोलाउँदा उनी नआएको झापाका एसपी राजन लिम्बूले बताए।
सम्पर्कविहीन भएर बसेको र ९० दिनसम्म खोज्दा नभेटिएकोले उनलाई फरारको सूचीमा राखेर खोजी गरिएको लिम्बुले जानकारी दिए। झापामा लुइँटेलबाट ठगिनेहरूको यकिन विवरण नभए पनि अहिलेसम्म ५४ जना सम्पर्कमा आएको र झण्डै ५ करोड बढि ठगी भएको विवरण प्रहरीमा रहेको एसपी लिम्बूले बताए।