विराटनगरमा भारतीय नागरिकसँग मिलेर मोबाइल लुटपाट र फिरौती माग्ने तीन जना पक्राउ

विराटनगर — भारतीय नागरिकसँग मिलेमतो गरी विराटनगरको एक होटलमा काम गर्ने दुई किशोरको मोबाइल लुटपाट गरेर अभिभावकसँग ३० हजार रूपैयाँ फिरौती माग गरेको घटनामा संलग्न तीन जना पक्राउ परेका छन्।
विराटनगर महानगरपालिका–१६ का १९ वर्षीय प्रलवकुमार विक, दीपक अधिकारी र २३ वर्षीय मुकेश सरदारलाई प्रहरीले पक्राउ गरेको हो। भारतीय नागरिक २२ वर्षीय गोलु सिंह फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।
प्रारम्भिक अनुसन्धानमा गोलु सिंह लागुऔषध कारोबारी हुनसक्ने आशंका गरिएको छ। प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ फोकल्याण्ड टापुका प्रज्ञान राई र इटहरी उपमहानगरपालिका–१९ तरहराका आशिष गुरुङ विराटनगरको ट्राफिक चोक नजिकैको एक होटलमा काम गर्दै आएका थिए।
उनीहरूलाई केही दिनअघि साथीहरूले भारतको जोगवनी पुर्याए। त्यहाँ पुगेपछि उनीहरूको मोबाइल लुटपाट भयो र आक्रमण गर्न खोजियो। मोबाइल लुटपाट गरिएका प्रज्ञान र आशिष भागेर नेपाल फर्किए। त्यसपछि प्रज्ञानको मोबाइलबाट अभिभावकलाई फोन गरी ३० हजार रूपैयाँ फिरौती मागियो।
‘छोरो चाहिन्छ भने ३० हजार लिएर विराटनगरको बिग होटल नजिक आउनु’ भन्दै फोन आएपछि प्रज्ञानका पिता खेमप्रताप राईले मंगलबार बिहान इलाका प्रहरी कार्यालय धरानमा उजुरी गरे। यो सूचना पाएपछि धरानबाट इन्स्पेक्टर जीवन कुँवर नेतृत्वको टोली विराटनगरमा पुगेर मोरङ प्रहरीसँग समन्वय गरी अपराधमा संलग्नहरूलाई पक्राउ गर्यो।
सुरुमा विराटनगर बसपार्कबाट प्रलवकुमार र दीपक पक्राउ परे। उनीहरूबाट जानकारी लिएपछि मुकेशलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ।