सुँगुरले करेसाबारी नष्ट गरेको विषयमा विवाद, महिलामाथि सामूहिक कुटपिट

पाँचथर — पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ आङसराङमा छाडा छोडिएका सुँगुरले करेसाबारीमा क्षति पु¥याएको विषयलाई लिएर भएको विवाद सामूहिक कुटपिटमा परिणत हुँदा ३६ वर्षीया सरस्वता कुरुम्बाङ गम्भीर घाइते भएकी छिन्।
उनलाई स्थानीय २५ वर्षीया कविता आङदेम्बे, ३९ वर्षीया दमन्ता आङदेम्बेसहित चारजनाको समूहले कुटपिट गरेका हुन। सरस्वताको टाउको, ढाड, पिठ्युँ, हात र खुट्टामा चोट लागेको छ। कुटपिटमा संलग्न दुई जना पुरुषको नाम प्रहरीले सार्वजनिक गरेको छैन।
जानकारी अनुसार घटना असार १० गते बिहान भएको हो। ‘सुँगुर बारम्बार करेसाबारीमा छाडिदिन्थे। त्यसको विरोध गर्दा उल्टै आक्रमण गरे।’–पीडितका श्रीमान् राम कुरुम्बाङले बताए। कुटपिटबाट गम्भीर घाइते भएकी सरस्वतालाई सुरुमा पाँचथर अस्पताल लगिएको थियो। तर, पीडक पक्षले ‘गाउँमै मिलापत्र गर्ने’ भन्दै उपचार नगरी डिस्चार्ज गराएको परिवारको आरोप छ। ‘उपचार खर्च दिने भनेर घर ल्यायौँ तर बिरामी झन् जटिल भइन्,’ रामले भने।
स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई झापाको विर्तामोडस्थित बीएन्डसी अस्पतालमा भर्ना गरिएको छ। एमआरआई गर्दा टाउकामा चोट देखिएको जनाईएको छ। अहिले उनी खाना खाने समेत नसक्ने अवस्थामा पुगेको उनका भाइ अनुप योङहाङले बताए।
सरस्वता कुरुम्बाङमाथि कुटपिट गर्ने विरुद्ध ज्यान मार्ने उद्योग र अभद्र व्यवहार गरेको अभियोगमा कारबाही गर्न माग गर्दै परिवारले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएका छन्। तर, बुधबार साँझसम्म जाहेरी दर्ता नगरेको पीडित परिवारका सदस्यले जनाएका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी कौशल बुढाथोकीका अनुसार घटनामा संलग्न व्यक्तिहरूलाई प्रहरी कार्यालयमा बोलाइएको छ र छानबिन अघि बढाइएको छ।