धरानको श्रमदान विवादः मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतलाई सोधे स्पष्टीकरण, हाले फेसबुकमा

इटहरी — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदानको रकम भुक्तानी रोकिएको विषयमा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंलाई लिखित स्पष्टीकरण मागेका छन्।
मेयर साम्पाङले बहुभाषिक पाठशाला नजिकैको तटबन्धमा तारजाली लगाउने काम आफूले सम्झौता गरी सबै प्रक्रिया पूरा भएको र सार्वजनिक परीक्षणसमेत सम्पन्न भइसकेको अवस्थामा भुक्तानी रोकिनुको कारण स्पष्ट पार्न बिहीबार पत्र पठाएका हुन्।
साम्पाङले ‘अन्य योजनाको भुक्तानी पनि नहुने अवस्था देखिएको’ भन्दै आउन सक्ने असहज परिस्थितिको जिम्मेवारी कसरी वहन गर्ने भन्नेबारे चेतावनीयुक्त भाषामा लिखित जानकारी दिन निर्देशन दिएका छन्।
यही श्रमदान कार्यक्रममा ‘बिल पेस गर्न आफ्ना आसेपासेहरूलाई डोर हाजिरी फारम भराएर रकम मागिएको’ भन्दै मेयरमाथि आरोप लाग्दै आएको छ। अनुगमन समितिका संयोजकसमेत रहेका उपमेयर आइन्द्रविक्रम बेघाले बजेट निकासा रोकेपछि मेयर र उपमेयरबीच विवाद चुलिएको हो।
केही दिनअघि साम्पाङका समर्थकहरूले उपमेयरमाथि हातपातको प्रयास गरेको घटना सार्वजनिक भएको थियो। त्यसयता विवाद झनै तीव्र भएको छ। यही कारण धरानले नयाँ आर्थिक वर्षको बजेटसमेत ल्याउन सकेको छैन।
‘उपमेयरको पत्रकार सम्मेलनको जवाफ’ भन्दै मेयर साम्पाङले बिहीबार बिहानै प्रमुख प्रशासकीय अधिकृतलाई पठाएको स्पष्टीकरण पत्र सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन्।