सडक कब्जा गरेर स्कर्टिङसहित ‘सवारी निकालेको’ फोटोका कारण प्रहरी निगरानीमा थिए चक्रे मिलन

राजधानी— काठमाडौंको महाराजगञ्जस्थित साम्बाला होटलमा जन्मदिनको पार्टी मनाइरहेका चक्रे मिलन (मिलन गुरुङ) र उनका सहयोगीहरूलाई प्रहरीले होटल घेराबन्दी गरी पक्राउ गर्यो।
सार्वजनिक सडकमा सवारी साधन रोक्दै आफूखुसी भिड प्रदर्शन गरेको दृश्य सार्वजनिक भएपछि प्रहरीको निगरानीमा परेका उनीहरूमाथि अपरेशन चलाइएको हो। भक्तपुरमा तीनवटा गाडी दायाँ बाँया लगाएर पछाडि भिड जम्मा गरिँदै फोटो र भिडियो खिचिएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ती सवारी चक्रे समूहका भएको पुष्टि भयो। त्यसपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष निगरानी थालेको थियो।
‘सडक आफ्नै हो जस्तो गरी सार्वजनिक स्थान कब्जा गरेर गाडी राख्ने र भिड जम्मा गर्ने शैली गुण्डागर्दी हो,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले भने।
यही आधारमा विहिबार राति जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले साम्बाला होटल घेराबन्दी गर्दै अपरेशन चलाएको थियो। चक्रे मिलनको जन्मदिन मनाउन जम्मा भएका ४७ जनालाई नियन्त्रणमा लिइएकोमा १९ जनालाई सात दिनका लागि हिरासतमा राखिएको छ।
पक्राउ परेकाहरूमा मिलन गुरुङ (चक्रे मिलन)सहित गणेश बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही रहेका छन्।
होटल पार्टी स्थलबाट दुईवटा खुकुरी, एक फोल्डिङ रड र एक पेपर स्प्रे पनि प्रहरीले बरामद गरेको छ। पक्राउ परेकाहरूविरुद्ध अभद्र व्यवहार तथा सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान थालिएको छ।
विगतमा राजधानीका प्रमुख ‘गुण्डा नाइके’का रूपमा चिनिएका चक्रे मिलन २०६२/६३ पछि केही समय ओझेलमा परेका थिए। तर पछिल्लो समय सामाजिक सञ्जाल, सार्वजनिक जमघट र यस्ता भव्य पार्टीमार्फत पुनः सक्रिय हुने संकेत देखिएको प्रहरीले जनाएको छ।