मामालाई बाबु बनाएर नागरिकता लिएका सुनसरीका सन्दिप धामी १९ वर्षअघिको हत्या प्रकरणमा पक्राउ

राजधानी— हत्या अभियोगमा जन्मकैदको सजाय पाएका सुनसरीको बराह नगरपालिका–३ का सन्दिप भन्ने रुपलाल धामीलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ पर्ने डरले उनले आफ्नै मामालाई बाबु बनाएर नक्कली नागरिकता लिई फरार जीवन बिताइरहेका थिए। धामीलाई काठमाडौं महानगरपालिका–२६ स्थित सामाखुशीबाट मंगलबार पक्राउ गरिएको हो।

धामीसहित आठजनाको समूहले पुरानो रिसइबीका कारण २०६१ फागुन १० गते राति नरेन्द्र मोक्तानको घरमै पुगेर हतियार प्रहार गरी हत्या गरेका थिए। हत्यापछि उनीहरू शवलाई नजिकैको नालामा फ्यालेर फरार भएका थिए। उक्त घटनामा संलग्न अन्य प्रतिवादीहरू पक्राउ परे पनि धामी लामो समयदेखि फरार थिए।

सोही हत्याकाण्डमा संलग्न रहेकाले अदालतले धामीलाई जन्मकैदको सजाय सुनाएको थियो। तर उनी पक्राउ नपरी फरार रहेका थिए। प्रहरी अनुसन्धानबाट खुलेको विवरण अनुसार, उनले २०६८ जेठ २६ गते जिल्ला प्रशासन कार्यालय, सुनसरीबाट नक्कली नागरिकता बनाए। आफ्नो मामा पर्ने ननुलाल धामीलाई बाबु बनाई वंशजको आधारमा नागरिकता लिएका थिए।

पक्राउ परेपछि प्रहरीले उनलाई नक्कली नागरिकताको मुद्दामा समेत थप अनुसन्धान अगाडि बढाएको छ। हत्या र कागजपत्र कीर्ते दुबै मुद्दामा कारबाही अगाडि बढाउने तयारीमा प्रहरीले अनुसन्धान तीव्र पारेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट