सप्तरीमा सडक–पुल निर्माण अलपत्रः सरकारलाई दबाब दिन हस्ताक्षर अभियान सुरु

राजविराज– ठेक्का लागेको सडक र पुल निर्माण कार्य लामो समयदेखि अलपत्र परेपछि सरकारलाई दबाब दिन सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट हस्ताक्षर अभियान सुरु गरिएको छ। अभियानको नेतृत्व नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमेशकुमार यादवले गरेका छन्।
यादवका अनुसार नेपाल सरकार र मधेश प्रदेश सरकारले ठेक्का लगाए पनि निर्माण व्यवसायी र सम्बन्धित निकायको उदासिनताले काम अघि बढ्न सकेको छैन। यसले सर्वसाधारणलाई वर्षौंदेखि सास्ती दिइरहेको छ। त्यसैले प्रधानमन्त्री र मधेश प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराउन अभियान सुरु गरिएको हो।
साङ्केतिक आन्दोलन स्वरूप एक सातासम्म हस्ताक्षर सङ्कलन गरिने र त्यसपछि सीडीओ मार्फत प्रधानमन्त्री तथा प्रदेश मुख्यमन्त्रीलाई बुझाइने यादवले जानकारी दिए।
उनका अनुसार, निर्माणमा ढिलाइ हुनुमा नेपाल सरकारको मधेसप्रति रहेको हेपाहा प्रवृत्ति र मधेश प्रदेश सरकारको नाफाघाटामुखी कार्यशैली दुवै जिम्मेवार छन्। ‘जनस्तरबाटै दबाब सिर्जना गर्न यो अभियान थालेका हौं,’ यादवले भने।
यादवले सरकार र सम्बन्धित निकायले अझै गम्भीरता नदेखाए थप संघर्षका कार्यक्रम अघि बढाइने चेतावनी पनि दिए।