संसद् भवनमा ‘३२ शव’ भेटियो भन्ने हल्ला कसरी फैलियो ? टंक दाहालदेखि कलाकारसम्मको संलग्नता

काठमाडौँ— जेन–जी आन्दोलनसँगै देशभरि राजनीतिक संकट चुलिँदै गर्दा सामाजिक सञ्जालमा अर्को खतरनाक प्रवृत्ति देखियो— अपुष्ट र भ्रामक समाचारको सुनामी। संसद् भवनभित्र ३२ जना मृत भेटिएको भन्दै फैलिएको समाचार सवैको टाउको दुखाईको विषय वन्यो।

यसलाई सुरुमा आन्दोलन भड्काउने हतियारका रुपमा चर्चामा ल्याउने मध्ये एक थिए, आफूलाई पत्रकार बताउने युट्युबर टंक दाहाल। उनले गत सोमबार राति ८ बजेर ५१ मिनेटमा फेसबुकमा पोस्ट लेख्दै संसद् भवनभित्र ३२ जना बालबालिका नियन्त्रणमा राखिएको दाबी गरे। ‘प्रत्यक्षदर्शी स्रोत’ भन्दै लेखिएको त्यो स्टाटस केही मिनेटमै सयौँ प्रतिक्रियासहित फैलियो।

तर, दाहालको पोस्ट त्यत्तिमै रोकिएन। केही समयपछि विष्णु पोखरेल नामक प्रयोगकर्ताले ट्विटर (हाल एक्स) मा केपी शर्मा ओलीको फोटोसहित ‘३२ जना संसद् भवनमा बन्धक’ लेखेर सेयर गरे। त्यसपछि भने यो हल्ला आगोझैँ सञ्जालभरी फैलियो।

मंगलबार बिहानैदेखि फेसबुकमा विभिन्न प्रभावशाली अनुहारहरूले यही भ्रामक सूचनालाई ‘कन्फर्म’ गर्ने शैलीमा पोस्ट गर्न थाले। गायक शिव परियारले लेखे, ‘हिजो बेपत्ता पारिएका ३२ जना संसद् भवनभित्र मृत फेला भन्ने खबर छ, के यो सत्य हो?’

कमेडियन हिमेश पन्तले पनि फेसबुकमा ‘यो सत्य नहोस् भगवान्!’ भन्दै शंका उब्जाउने पोस्ट गरे। रास्वपाका नेता खिमानन्द कँडेलले त ‘अत्यन्तै दुःखद खबर’ भन्दै सिधै पुष्टि गर्ने शैलीमा स्टाटस लेखे।

त्यसैबीच सुजन ढकाल नामक व्यक्तिले भिडियोमार्फत ‘३२ जना संसद् भवनभित्र मृत भेटिए’ भन्ने दाबी गरे। उनले जेन–जी आन्दोलनलाई खुला समर्थन जनाउँदै, ‘जे गरिरहेको छ जेन–जीले एकदमै ठिक गरिरहेको छ’ भन्दै भिडलाई थप भड्काउने काम गरे।

यस्तै अर्को युट्युबर भाग्य न्यौपानेले पनि मंगलबार भिडियो पोस्ट गर्दै संसद् भवनभित्र ३२ शव भेटिएको भन्दै दाबी गरे। उनले आन्दोलनकै क्रममा ‘झापाको मेयरको घरबाट दुई बोरा सुन भेटियो’ भन्ने जस्तो अन्य गलत सूचनासमेत फैलाएको तथ्य फेला परेको छ। यति मात्र होईन, हत्यारा गृहमन्त्रीले रवि लामिछानेलाई थुनेको भन्दै रविलाई जेलबाट निकालेर गृहमन्त्री बनाउनु पर्ने भन्दै भीडलाई उक्साउने काम गरेको भेटिएको छ।

तर, नेपाल प्रहरीले भने बारम्बार स्पष्ट पारेको छ— संसद् भवनभित्र ३२ शव भेटिएको भन्ने समाचार पूर्णतः झूट हो। त्यस्तो कुनै शव भेटिएको छैन। त्यस्तै चुच्चेपाटीस्थित भाटभटेनीमा पनि ‘३५ वटा कंकाल भेटियो’ भन्ने हल्ला फैलाइएको थियो, तर वास्तवमा त्यहाँ ६ जनाको मात्र शव भेटिएको छ।

विशेषज्ञहरूका अनुसार यस्तो भ्रामक समाचार योजनाबद्ध रूपमा प्रयोग भइरहेको छ। दंगा भड्काउने, आममानिसमा त्रास सिर्जना गर्ने र आन्दोलनलाई हिंसात्मक दिशातर्फ मोड्ने लक्ष्यसहित केही समूहहरूले यसलाई फैलाएको आशंका छ।

टंक दाहाल, भाग्य न्यौपानेजस्ता आफूलाई ‘पत्रकार’ बताउने युट्युबरदेखि गायक, कमेडियन र राजनीतिक नेतासम्म अपुष्ट समाचार फैलाउन संलग्न हुँदा प्रश्न उठेको छ— यो हल्ला कति स्वस्फूर्त हो, कति नियोजित ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट