देश जलाउनेमा रास्वपाको संलग्नता पुष्टि हुँदैः पनौती घटनामा रास्वपाका नेता नै आगजनीका कमाण्डर

काठमाडौँ— जेन–जी आन्दोलनको उन्मादमा भदौ २४ गते पनौती नगरपालिकामा भएका आगजनी र तोडफोडका घटनाले ठूलो रूप लिँदा अब रास्वपाको प्रत्यक्ष संलग्नता प्रमाणसहित सतहमा आएको छ। आन्दोलनलाई जनअसन्तोषको उपज मात्र मानिँदै आएको भए पनि हालसालै सार्वजनिक भएका भिडिओ–फोटोहरूले पार्टीका स्थानीय नेतृत्व नै अग्रभागमा रहेको देखाएपछि रास्वपाभित्रै ठूलो संकट सिर्जना भएको छ।

पनौतीमा कांग्रेस नेता शिव हुमागाईं, पूर्व मेयर भीम न्यौपाने, उपमेयर गीता बन्जारा र व्यवसायी क्याप्टेन रामेश्वर थापाको घरमा आगजनी हुँदा नगरवासी आतंकित भएका थिए। यस घटनामा कमान्ड नै रास्वपा नगर सभापति विवेक भट्टराई र वडा इन्चार्ज सुदर्शन तिमल्सिनाले सम्हालेको प्रमाण सार्वजनिक भएपछि उनीहरूले आत्मस्वीकृतिसहित पार्टी छाड्न बाध्य भएका छन्।

भट्टराई काठमाडौँ विश्वविद्यालयअन्तर्गतको कुप्स विद्यालयमा स्थायी शिक्षकसमेत रहेका छन्। एकातिर शिक्षकको हैसियत, अर्कोतिर हिंसात्मक आन्दोलनको नेतृत्व। यसरी दोहोरो भूमिकाले अभिभावकदेखि विश्वविद्यालय प्रशासनसम्म चिन्तित बनाएको छ। विद्यालयले भट्टराईको स्थायी नियुक्ति स्वीकार गरेको र अहिले घटनाबारे आन्तरिक छलफल भइरहेको पुष्टि भएको छ।

इन्चार्ज सुदर्शन तिमल्सिनाले समेत ‘हामीबाट कमजोरी भयो’ भन्दै गल्ती स्वीकार गरेका छन्। तर, उनले दोष सम्पूर्ण आफूहरूमाथि थोपर्न खोजिएको गुनासो गर्दै, सभापति भट्टराईले राजीनामा दिएपछि आफू पनि पार्टीबाट अलग भएको घोषणा गरेका छन्। अझ चर्को रूपमा उनले ‘अब मेरो सात पुस्ताले राजनीति नगर्ने’ भन्दै निराशा प्रकट गरेका छन्।

यसरी स्थानीय तहमा देखिएको हिंसात्मक संलग्नता र पार्टी नेतृत्वको मौनताले अब रास्वपा ‘देश जलाउने’ योजनामा सक्रिय रहेको पुष्टि भएको जस्तो चित्र प्रस्तुत गरेको छ। सामाजिक सञ्जालमा फैलिएका भिडिओ–फोटोहरूले आन्दोलनलाई स्वतःस्फूर्त नभई संगठित रूपमा हिंसामा धकेलिएको आरोपलाई अझै तीब्र बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट