वीरगञ्जको होटलमा भारतीय बाबुछोराको रहस्यमय मृत्युः एक झुण्डिएको र अर्को खाटमै भेटियो शव

वीरगञ्ज — पर्साको भानुचोकस्थित होटल साह पाराडाइजमा दुई भारतीय नागरिक असामान्य अवस्थामा मृत फेला परेका छन्। होटल प्रशासनका अनुसार ६७ वर्षीय सजल अचार्जी र उनका २४ वर्षीय छोरा सागर अचार्जी कोठाभित्र मृत भेटिएपछि घटनाले रहस्यमय मोड लिएको छ।
त्रिपुरा राज्यको पश्चिम त्रिपुरा जिल्लास्थित पश्चिम भुवनम गाउँका अचार्जी बाबुछोरा असोज १९ गतेदेखि वीरगञ्जमा बसिरहेका थिए। होटलका सञ्चालक भरत साहका अनुसार उनीहरू काठमाडौं हुँदै कलकत्ता फर्कने तयारीमा थिए। सोमबार दिउँसो उनीहरूले कोठामै खाना मगाएका थिए, तर त्यसपछि न त बाहिर निस्किए न त पुनः खाना मगाए।
लामो समयसम्म ढोका नखोलेपछि होटल प्रशासनले शंका मानेर प्रहरीलाई खबर गरेको थियो। प्रहरी र होटलका कर्मचारीहरूले छेउको कोठाबाट भेन्टिलेसनमार्फत हेर्दा एक जना झुण्डिएको र अर्को खाटमै मृत अवस्थामा फेला परेपछि घटनास्थललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए।
‘कोठा भित्रबाटै चुकुल लगाइएको थियो,’ उनले भने, ‘एक जना झुण्डिएको र अर्को खाटमा मृत फेला परेको देखिन्छ। अहिले हामीले घटनास्थल सुरक्षित राखेर प्रारम्भिक अनुसन्धान सुरु गरेका छौं।’
प्रहरीले मृतकका पासपोर्ट र कागजातका आधारमा पहिचान पुष्टि गरेको छ। उनीहरू दुवै भारतीय नागरिक भएको पुष्टि भएपछि पर्सा प्रहरीले भारतीय महावाणिज्य दूतावासलाई घटनाबारे जानकारी गराएको छ।
जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी सुदिप पाठकका अनुसार भारतीय पक्षका प्रतिनिधि वा आफन्त आइपुग्दासम्म होटलको कोठा सिल गरेर राखिनेछ। ‘भारतीय नागरिक भएकाले राजनैतिक र कानुनी प्रक्रियाअनुसार दूतावासका प्रतिनिधि नआएसम्म हामीले शव निकाल्ने काम अगाडि बढाउँदैनौं,’ उनले भने।
प्रहरीका अनुसार मृतकको परिवार वा आफन्तसँग सम्पर्कका लागि पहल भइरहेको छ। यदि परिवारका सदस्य समयमा नआए स्थानीय जनप्रतिनिधिको रोहबरमा कोठा फोडेर शव बाहिर निकाल्ने तयारी गरिएको छ।