नेपालमा भएको कार दुर्घटनाले खोल्यो प्रेमिकाको हत्या गर्ने भारतीय प्रेमीको योजना

काठमाडौँ– तीन वर्षअघि सुरु भएको भारतीय जोडिको प्रेम सम्बन्ध अन्ततः हत्या प्रयासमा टुंगिँदा अहिले नेपाकलो कपिलवस्तु क्षेत्र चर्चामा छ। भारतको सिद्धार्थनगरका ३५ वर्षीय हफिजूल्लाह मुसलमानले आफ्नै प्रेमिकासँग प्रतिशोध लिन नेपालमै हत्या योजना बनाएको खुलासा भएपछि उनि पक्राउ परेका छन्

हफिजूल्लाह र ती ३० वर्षीया महिला तीन वर्षदेखि लिभिङ टुगेदरमा बस्थे। तर, सम्बन्धमा दरार आएपछि हफिजूल्लाहले ‘विवाह गर्ने’ बहानामा प्रेमिकालाई भारतबाट नेपाल ल्याएर हत्या गर्ने योजना बनाए। उनले एक लाख भारतीय रुपैयाँमा भाडाका मानिसहरू प्रयोग गरी हत्या गर्न ‘सुपारी’समेत दिएका थिए।

गत कार्तिक १५ गते हफिजूल्लाहले भारतको सिद्धार्थनगरस्थित आफ्नै डेराबाट ती महिलालाई चन्द्रौटातर्फ बोलाए। कपिलवस्तु नगरपालिका–४ लौसास्थित सडक खण्डमा युपी ५५ एबी ६९७९ नम्बरको कारमा सँगै जाँदै गर्दा उनले नाइलनको डोरीले महिलाको घाँटी कसेर हत्या गर्ने प्रयास गरे। तर, आत्मरक्षामा महिलाले कारको स्टेरिङमा खुट्टा चलाएपछि सवारी नियन्त्रण बाहिर गयो र विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्कियो।

त्यो ठक्करले उनको ज्यान पनि जोगायो र प्रमिको आपराधिक योजनाको पनि पोल खुल्यो। दुर्घटनापछि महिलाको चिच्याहट सुनेर ट्रक चालक र सहचालकले हफिजूल्लाहलाई नियन्त्रणमा लिए र प्रहरीलाई खबर गरे। प्रहरीले घटनास्थलबाट नाइलन डोरी, गम्छा र ‘बुम’ लेखिएको माइक बरामद ग¥यो। माइकको नाम लेखाइका कारण प्रहरीले हफिजूल्लाह कुनै भारतीय सञ्चारमाध्यमसँग सम्बन्धित हुनसक्ने आशंका गरेको छ।

प्रहरी अनुसन्धानले देखाए अनुसार हफिजूल्लाह विवाहित थिए। तर उनी प्रेमिकासँग बुटवलमा सँगै बस्थे। गत असोज ३१ गते ती महिलाले हफिजूल्लाहको मोबाइलबाट दुवैको तस्बिर उनको श्रीमतीको मोबाइलमा पठाएकी थिइन्। यो घटनाले उनको वैवाहिक जीवन संकटमा पा¥यो। सामाजिक अपमान र पारिवारिक दबाबका बीच उनले प्रेमिकामाथि प्रतिशोध लिने योजना बनाए।

‘त्यो सानो कार्यले उसको पारिवारिक सन्तुलन भत्कायो र भावनात्मक अस्थिरताले उनलाई अपराधतिर धकेल्यो,’ एक अनुसन्धान अधिकृतले भने। हफिजूल्लाहले त्यसपछि भारतमै परिचित केही व्यक्तिहरूसँग सम्पर्क गरी प्रेमिकाको हत्या योजना तयार गरे। ती महिलालाई नेपाल बोलाएर हत्या गरेर फ्याँक्ने योजना थियो, तर नियती उल्टो भयो— उनको योजना कार दुर्घटनाले विफल भयो।

घटनापछि प्रहरीले हफिजूल्लाहलाई तत्कालै पक्राउ गरी जिल्ला अदालत कपिलवस्तुमा पेश गरेको छ। अदालतले उनलाई ७ दिनको म्याद थप गरी ‘ज्यान मार्ने उद्योग’ मुद्धामा अनुसन्धान अघि बढाएको हो।

प्रहरीले भारतमा रहेका उनका केही परिचितहरूसँग आर्थिक लेनदेन र हत्या सुपारीको प्रमाण खोजिरहेको जनाएको छ। फरार दुई व्यक्ति भारततर्फ भागेको आशंका गरिएको छ। कपिलवस्तु प्रहरीले भारतीय प्रहरीसँग सहकार्य गरेर खोजी सुरु गरेको छ। गम्भीर घाइते भएकी महिला अहिले बुटवलस्थित अस्पतालमा उपचाररत छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट