१० करोड ठगीको अनलाइन स्क्याम–गिरोह पर्सामा पक्राउः ४३ एटिएम कार्डसहित नाबालकसम्म पक्राउ
वीरगञ्ज– मधेश प्रदेशभर सक्रिय अनलाइन ठगीको ठूलो गिरोह पर्सामा पक्राउ परेको छ। पर्सा प्रहरीले १० करोड रुपैयाँभन्दा बढीको अवैध कारोबारमा संलग्न एक नाबालकसहित तीन जनालाई नियन्त्रणमा लिएर डिजिटल अपराधको एउटा जालो भत्काएको छ।
प्रहरीका अनुसार बुधबार दिउँसो करिब १२ बजे वीरगन्ज महानगरपालिका–८ प्रभु अस्पताल अगाडिको सडक क्षेत्रमा विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको थियो। पक्राउ पर्नेहरूमा वीरगन्ज–२९ मुसैलीका ३५ वर्षीय कृष्णा प्रसाद, बारा विश्रामपुर–१ का २१ वर्षीय राहुल मण्डल र १४ वर्षीय एक नाबालक छन्।
अनुसन्धान अनुसार गिरोहले विभिन्न बैंकका ‘मनी मोल एकाउन्ट’ खोलाएर ती खातामार्फत व्यापक ठगी कारोबार गर्दै आएको थियो। उनीहरूले फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा फेक अनलाइन व्यवसाय चलाउँदै, एआईबाट नक्कली कागजात तयार गर्ने, नक्कली कम्पनी प्रोफाइल बनाउने, र सामान अर्डर बिल सिर्जना गर्ने जस्ता तरिकाबाट सर्वसाधारण तथा व्यवसायीलाई झुक्याउँदै आएका थिए।
प्रहरीले उनीहरूबाट विभिन्न बैंकका ४३ थान एटीएम कार्ड बरामद गरेको छ, जसको प्रयोग गरी करिब १० करोड रुपैयाँभन्दा बढीको अवैध कारोबार भएको पाइएको छ। यो गिरोह मधेश प्रदेशका अधिकांश जिल्लामा सक्रिय रहेको र ठूला कम्पनीहरूको नाममा नक्कली चेक प्रयोग गरी सामान अर्डर गरेर गायब हुने गरेको प्रहरीको भनाइ छ।
पर्सा प्रहरी डीएसपी हरिबहादुर बस्नेतका अनुसार उनीहरूमाथि बैंकिङ कसुरमा मुद्दा दर्ता गरिएको छ। पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको वस्नेतले वताए।
उद्योगी–व्यवसायीले लगातार गुनासो गरेपछि प्रहरीले यो गिरोहको खोजी सुरु गरेको थियो।

