धनुषामा बम विस्फोट हुँदा दुई बालबालिका घाइते, सीमाक्षेत्रमा शंकास्पद वस्तु निष्क्रिय
जनकपुर— धनुषाको मिथिला नगरपालिकामा मंगलबार भएको बम विस्फोटमा२ बालबालिका घाईते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिथिला नगरपालिका–९ बडहरीस्थित पुलमाथि अचानक बम विस्फोट भएको हो।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेशबहादुर बमले विस्फोटमा मिथिला–८ जमुनिवासकी १५ वर्षीया आशा भुजेल र ८ वर्षीय सुशील माझी घाइते भएको पुष्टि गरे। प्रहरीका अनुसार विस्फोट अचानक भएको र त्यसको आवाजसँगै आसपासका बासिन्दा र यात्रुहरूबीच एकछिन हाहाकार भएको थियो।
घाइते दुवै बालबालिकालाई तत्काल उपचारका लागि स्वास्थ्य संस्थामा लगिएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विस्फोट गराउने वस्तु के थियो भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।
घटनास्थलमा पुगेको सुरक्षा निकायले विस्फोट भएको स्थानको घेराबन्दी गर्दै प्रमाण संकलन सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानमा उक्त स्थानमा कसैले शंकास्पद वस्तु राखेको आशंका गरिएको छ भने घटनाको पृष्ठभूमि र उद्देश्यबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, धनुषा र महोत्तरी जिल्लाको सीमामा पर्ने रातु नदीको पुलमा समेत शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता थप कडा बनाइएको छ। महोत्तरी प्रहरीले दिएको जानकारी अनुसार उक्त स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर शंकास्पद वस्तुलाई सुरक्षित रूपमा निष्क्रिय पारेको छ।
यस घटनाले धनुषा र महोत्तरी क्षेत्रका प्रमुख सडक तथा पुलहरूमा सुरक्षा सतर्कता बढाइएको छ भने सुरक्षा निकायले थप जोखिम हुन नदिन निगरानी तीव्र बनाएको जनाएको छ। लगातार शंकास्पद वस्तु भेटिनु र विस्फोटसमेत हुनुले स्थानीयवासीमा त्रास बढेको छ।
