नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीको दादागिरी: बर्दी र हतियारसहित बारम्बार प्रवेश, राज्य संयन्त्र मौन

राजविराज — नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मीको दादागिरी अत्याधिक बढेको छ। उनिहरु बर्दी र हतियारसहित नेपाली भूमिमा प्रवेश गर्ने गरेका छन्। पुस महिनाभित्रै भारतीय सुरक्षाकर्मी दुई पटक नेपाल प्रवेश गरेका भीडीओ सामाजिक सञ्जालमै सार्वजनिक भएका छन्।

पर्साको धोबिनीदेखि सप्तरीको तिलाठीसम्म भएका छुट्टाछुट्टै घटनाले भारतीय प्रहरीको हेपाहा प्रवृति मात्रै देखाएको छैन, सीमा सुरक्षा र सरकारी संयन्त्रको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। शुक्रबार पर्साको धोबिनी गाउँपालिकामा भारतीय सुरक्षाकर्मी बर्दीसहित नेपाल प्रवेश गरेका थिए।

गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानका अनुसार भारतीय प्रहरीको गाडीमै आएका सुरक्षाकर्मीहरु सीमावर्ती प्रहरी चौकी अन्तर्गत वडा नं. ५ क्षेत्रभित्र प्रवेश गरेका थिए। त्यसपछि उनिहरुलाई स्थानीयले रोकेका थिए। अध्यक्ष चौहानका अनुसार उनिहरु कुनै व्यक्तिलाई पक्राउ गर्न आएका जस्ता देखिन्थे।

‘म बाहिर भएकाले पछि मात्र थाहा पाएँ, नेपाल प्रहरीले नै यो विषय मिलाएको रहेछ।’– चौहानले भने। स्थानीयले सार्वजनिक गरेको भीडीओमा भारतीय सुरक्षाकर्मीलाई ‘नेपालमा के गर्न आएको?’ भन्दै प्रश्न गरिएको स्पष्ट सुनिन्छ।

तर पर्साका सीडीओ भोला दाहालले भने बर्दीमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको जानकारी आफूलाई नभएको दाबी गरे। ‘सादा पोसाकमा आएको भन्ने सुनेको थिएँ, समन्वय गरेर फर्काइएको छ,’ उनले भने।

यसअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरु सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा वर्दी र हतियारसहित गस्ती गरिरहेको देखिएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएको भीडीओमा एसएसबीका सहायक उपनिरीक्षक (एएसआई) टीसेरिङ नोर्बोको नेतृत्वमा पाँच जनाको टोली राजविराज भन्सार कार्यालय अगाडिको मुख्य सडकमा देखिएको थियो।

भीडीओअनुसार एएसआई नोर्बोले बन्दुक बोकेका थिए भने अन्य चार जना सुरक्षाकर्मी लाठी बोकेका थिए। सो स्थानको पूर्वतर्फ करिब ५ सय मिटरमा नेपाल प्रवेश चेकपोइन्ट, पश्चिमतर्फ ३ सय मिटरमा बोर्डर आउट पोस्ट (बीओपी) तिलाठी, र सोही क्षेत्रमै सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त टोली जाँचका लागि खटिएको छ।

तर दिउँसै भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाल प्रवेश गर्दा पनि सुरक्षा निकाय बेखबर थियो। बीओपी तिलाठीका सशस्त्र प्रहरी इन्स्पेक्टर जसबहादुर राईले भने भारतीय सुरक्षाकर्मी भारततर्फकै दशगजा हुँदै गएको र खोला पार गर्न नेपालतर्फको पुल प्रयोग गरेको दाबी गरे। ‘कानुनअनुसार हतियारसहित नेपाली भूमिमा आउन मिल्दैन, तर व्यवहारिक रूपमा पुल प्रयोग गरेर फर्किएका हुन्।’– उनले स्पष्टिकरण दिए।

तर हतियार बोकेर नेपाल प्रवेश गर्दा पूर्वसूचना नदिइएको कुरा उनले स्वयं स्वीकार गरे। सप्तरीका सीडीओ टुवराज पोखरेलले भने यसबारे प्रहरीसँग बुझ्ने प्रतिक्रिया दिएका थिए।

नेपाल–भारत सीमा क्षेत्रमा यसअघि पनि भारतीय सुरक्षाकर्मी बर्दी र हतियारसहित नेपाल प्रवेश गर्ने र आफनो उदेश्य पुरा गरी फर्किने प्रवृत्ति देखिएको छ। पर्सा र सप्तरीका यी पछिल्ला घटनाले सीमाको सार्वभौमिकता, सुरक्षा संयन्त्रको सतर्कता र सरकारी जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ।

सीमामा बारम्बार हुने यस्ता गतिविधिलाई ‘समन्वय’ को नाममा हलुका रूपमा लिँदै जाने कि कूटनीतिक र कानुनी तहबाट कडाइका साथ समाधान खोज्ने भन्ने प्रश्न अझै अनुत्तरित छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट