महासंघ सप्तरीका सचिवको राजिनामाः दलगत कब्जाबाट पत्रकारितालाई मुक्त गर्न विस्फोटक विद्रोह
राजविराज— नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सचिव खगेन्द्र कार्कीले पदबाट राजीनामा दिनुको पछाडि गहिरो आत्मालोचना, संस्थागत असन्तुष्टि र पत्रकारिताको मूल मर्ममाथि उठेको प्रश्न जोडिएको खुलेको छ। कार्कीले महासंघको नेतृत्व राजनीतिक दलको भागबन्डा र दलगत स्वार्थमा अल्झिएको निष्कर्ष निकाल्दै आफू त्यस संरचनाको हिस्सा रहन नसक्ने जनाएका छन्।
कार्कीले २०८२ भदौ २५ गते दिएको राजीनामा पत्र ‘शीर्ष खबर’लाई उपलब्ध गराएका छन्। जसमा उनले महासंघ जस्तो ‘पवित्र संस्था’ राजनीतिक दलका भ्रातृ संगठनको प्रतिनिधित्वमा चल्नु नै मूल समस्या भएको स्वीकार गरेका छन्। मंसिर २८ गते सम्पन्न निर्वाचनबाट आफू दलगत प्रतिनिधिको रूपमा नेतृत्वमा पुगे पनि सप्तरीका सम्पूर्ण श्रमजीवी पत्रकार र आवाजविहीन नागरिकको निष्पक्ष, स्वतन्त्र आवाज उठाउन नेतृत्व असफल भएको उनको ठहर छ।
उनले स्पष्ट रूपमा स्वीकार गरेका छन— पत्रकार महासंघको नेतृत्वमा रहेर दलगत स्वार्थभन्दा माथि उठ्न नसक्नु नै वर्तमान संकटको जड हो। महासंघभित्र लामो समयदेखि ‘फलानो दलको पत्रकार’ भन्ने आरोप–प्रत्यारोप चलिरहनु, र त्यसले संस्थाको विश्वसनीयता कमजोर बनाउँदै लैजानु कार्कीको राजीनामाको प्रमुख कारण बनेको देखिन्छ।
राजीनामामा उल्लेख गरिएको अर्को गम्भीर सन्दर्भ जेन–जी आन्दोलन हो। आन्दोलनका क्रममा महासंघ सप्तरीको भवनमाथि ढुंगामुढा हुनु सामान्य घटना नभएको कार्कीको निष्कर्ष छ। उनले यसलाई वर्तमान पुस्ता, आम नागरिक र श्रमजीवी पत्रकारका हकहितमा महासंघको नेतृत्व असफल भएको प्रत्यक्ष संकेत मानेका छन्। ‘हामीले गरेको नेतृत्व अहिलेको पुस्ताको अपेक्षा अनुरूप रहेन,’ भन्ने आत्मस्वीकार उनले गरेका छन्।
कार्कीले महासंघलाई राजनीतिक प्रभावबाट मुक्त, स्वतन्त्र र साझा संस्था बनाउने अभियान सप्तरीबाटै सुरु हुनुपर्ने धारणा अघि सारेका छन्। त्यसका लागि विगतदेखि नै कुनै राजनीतिक दलमा आवद्ध नभई स्वतन्त्र पत्रकारिता गर्दै आएका श्रमजीवी अग्रज पत्रकारहरूलाई पुनः नेतृत्वमा ल्याउन बाटो खुला गर्न आफूले राजीनामा दिएको उनको भनाइ छ।
कार्कीले अब कुनै पनि राजनीतिक दलमा आवद्ध नरही, आफू आबद्ध संगठन (प्रेस चौतारी नेपाल) समेत त्यागेर सप्तरी जिल्लालाई नै कार्यक्षेत्र बनाएर स्वतन्त्र पत्रकारिता निरन्तरता दिने घोषणा गरेका छन्। उनको यो कदमलाई महासंघभित्र बढ्दै गएको दलगत प्रभावविरुद्धको विद्रोहका रूपमा पनि हेरिएको छ।
यो पनि,

