नेपाल पत्रकार महासंघ सप्तरीका सचिवको राजीनामा, निर्वाचन गर्न माग

राजविराज — नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सचिव खगेन्द्र कार्कीले आफ्नो पदबाट राजीनामा दिएका छन्। कार्कीले भदौ २५ गते नै राजीनामा दिएको भए पनि उक्त विषय हालै मात्र सार्वजनिक भएको हो।

प्रेस चौतारी नेपालबाट प्रतिनिधित्व गर्दै सचिवमा निर्वाचित भएका कार्कीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन सकिएलगत्तै सामाजिक सञ्जालको आन्तरिक ग्रुपमार्फत राजीनामा दिएको स्रोतले जनाएको छ। कार्यसमितिका सदस्यहरूले उनलाई राजीनामा फिर्ता लिन पटक–पटक आग्रह गरे पनि कार्कीले अस्वीकार गरेको एक सदस्यले जानकारी दिए।

राजीनामा पेश भएपछि दुई–तीन पटक कार्यसमितिको बैठकमा छलफल भए पनि अहिलेसम्म औपचारिक रूपमा स्वीकृत हुन सकेको छैन। राजीनामा स्वीकृत गरेपछि कार्यवाहक सचिव नियुक्त गर्ने कि सचिव पदका लागि निर्वाचनमा जाने भन्ने विषयमा महासंघभित्र मतभेद देखिएको छ।

कार्यसमितिका एक सदस्यका अनुसार प्रेस चौतारीबाट प्रतिनिधित्व गर्ने दुई सह–सचिवमध्ये एक जनालाई कार्यवाहक सचिव बनाएर काम चलाउने प्रस्ताव बैठकमा आएको थियो। तर, दुवै सह–सचिवले आफू नै कार्यवाहक सचिव बन्ने दाबी गरेपछि सो विषय टुंगोमा पुग्न सकेन।

यसैबीच प्रेस चौतारी सप्तरीको हालै सम्पन्न बैठकले संगठनका अध्यक्षसमेत रहेका डम्बर राईलाई कार्यवाहक सचिवका रूपमा सिफारिस गर्ने निर्णय गरेपछि सचिवको राजिनामा चर्चामा आएको हो। यो निर्णय सार्वजनिक भएपछि प्रेस जनमत पक्षले सचिव पदका लागि तत्काल निर्वाचन गराउनुपर्ने माग अघि सारेको छ।

संघका केन्द्रीय अध्यक्ष अवधेश झाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ‘यदि सचिवले राजीनामा दिएको हो भने तत्काल स्वीकृत गरी सचिव पदका लागि निर्वाचन गरिनुपर्छ’ भनेर स्पष्ट माग गरेका छन्।

खगेन्द्र कार्कीले आफूले सचिव पदबाट राजीनामा दिएको स्वीकार गर्दै यसबारे थप कुरा पछि गर्ने बताएका छन्। तर, महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले भने सचिवको राजीनामा हल्लामात्र भएको दाबी गरेका छन्। सामाजिक सञ्जालमा लेखेकै भरमा राजीनामा वैधानिक नहुने र हस्ताक्षरसहितको औपचारिक पत्र आवश्यक पर्ने उनको भनाइ छ।

सचिवको राजीनामा स्वीकृत गर्ने कि नगर्ने, कार्यवाहक तोक्ने कि निर्वाचनमा जाने भन्ने विषयमा सहमति नजुट्दा नेपाल पत्रकार महासंघ सप्तरीभित्र आन्तरिक अन्योल र संगठनात्मक विवाद चुलिँदै गएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट