जेन–जीको रगतमा राजनीतिः ओलीलाई ‘हत्यारा’ ठहर गर्ने होड, आसिफको फेसबुक युद्धमा ज्योति मगरको खुला चुनौती

राजविराज— भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको काँधमा थोपर्ने अभियान सामाजिक सञ्जालमा लामो समयदेखि चलिरहेको छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता, कार्यकर्ता र समर्थकहरूले ओलीलाई ‘हत्यारा’को संज्ञा दिँदै सार्वजनिकरूपमै दोषी ठहर गरिसकेका छन्।

तर, ओली स्वयं भने आफूले आन्दोलनमा गोली चलाउने कुनै आदेश नदिएको दाबी गर्दै ती आरोप अस्वीकार गरिरहेका छन्। ओलीको सफाइलाई अस्वीकार गर्दै रास्वपानिकट समूहले उनलाई जसरी भए पनि ‘राक्षस’ सावित गर्ने अभियान तीव्र बनाइरहेका बेला यो विवादमा नेपाली चलचित्र क्षेत्रका कलाकार आसिफ साह खुलेर उत्रिएका छन्। साहले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक स्ट्याटसले राजनीतिक वृत्त मात्र होइन, कलाकार समुदायसमेत तातेको छ।

साहले लेखेका छन्, ‘जसरी गाडी दुर्घटनाको जिम्मेवारी चालकको हुन्छ, त्यसरी नै देशमा घटेको दुर्घटनाको जिम्मेवारी त्यसबेलाको सरकार प्रमुखले लिनैपर्छ।’ उनको यो अभिव्यक्तिलाई रास्वपा समर्थकहरूले ओलीमाथिको ‘अन्तिम प्रमाण’झैँ प्रचार गर्न थालेका छन्।

तर, यही स्ट्याटसपछि आसिफ साह स्वयं आलोचनाको केन्द्रमा तानिएका छन्। किनकि साह सामान्य कलाकार मात्र होइनन—उनी रास्वपा र काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साह (बालेन) लाई एकै राजनीतिक मोर्चामा ल्याउने प्रयासमा सक्रिय भूमिका खेलेका व्यक्ति हुन्। उनी रास्वपाबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत बनेका थिए। तर, व्यापक विरोध र आलोचनापछि उनले उम्मेदवारी फिर्ता लिन बाध्य भएका थिए।

यसै विवादमा गायिका ज्योति मगर खुलेरै मैदानमा उत्रिएकी छन्। उनले आसिफ साहको फेसबुक स्ट्याटसलाई आफ्नै टाइमलाइनमा सेयर गर्दै तीखो प्रतिक्रिया जनाएकी मात्र छोइनन्, साह र रास्वपामाथि सिधै चुनौती र चेतावनीसमेत दिएकी छन्।

मगरको आक्रोशको केन्द्रमा रास्वपाले ‘प्रधानमन्त्रीको अनुहार’का रूपमा अघि सारेका बालेन्द्र साह (बालेन) छन्। उनले बालेन सार्वजनिक बहसबाट भाग्ने, प्रश्नसँग डराउने र सामाजिक सञ्जालमै सीमित हुने गरेको आरोप लगाएकी छन्।

ज्योति मगर लेख्छिन— ‘आसिफ जी, गाडी दुर्घटना चालकको कारणले मात्र हुँदैन। गाडीको कन्डिसन, बाढी–पहिरो, आपत–विपत् मात्रै होइन, खासगरी तपाईंहरूले बनाउने फिल्ममा जस्तो भिलेनले नियोजित ढङ्गले ब्रेक फेल गराउँदा पनि दुर्घटना हुन्छ। संसार बुझेको तपाईं मात्र होइन, हामी पनि छौँ। बिना पार्टी सदस्यता, बिना सांसद बन्ने लोभ भएका चेतनशील नागरिक। तपाईंहरू फिल्मी डाइलग बोलेर नेता भइन्छ, देश बनाइन्छ भन्ने भ्रममा हुनुहुन्छ भने ऐना हेर्नुस्। पब्लिकमा आएर डिबेट गर्नुस्, फेसबुके डिबेट होइन।’

मगरको यो प्रतिक्रिया केवल व्यक्तिगत असहमति मात्र होइन, रास्वपा र बालेनको ‘सोसल मिडिया राजनीति’माथिको कडा प्रहारका रूपमा हेरिएको छ। सार्वजनिक बहसभन्दा फेसबुक स्ट्याटस र भावनात्मक नाराबाट राजनीति गर्न खोजिएको आरोप उनले स्पष्ट रूपमा उठाएकी छन्।

यो घटनाक्रमले जेन–जी आन्दोलनको पीडालाई राजनीतिक हतियार बनाउँदै सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपको खेल चलिरहेको देखाएको छ। एकातिर मृतकको न्यायको प्रश्न छ, अर्कोतिर त्यसैलाई आधार बनाएर राजनीतिक चरित्र हत्या र भावनात्मक उक्साहटको प्रतिस्पर्धा। ओलीको भूमिकामाथि गम्भीर बहस हुनुपर्ने बेला रास्वपा, बालेन र उनीहरू निकट कलाकारहरू फेसबुक स्ट्याटस र फिल्मी संवादमै सीमित हुँदै गएको आलोचना अब सार्वजनिक रूपमा उठ्न थालेको छ।

जेन–जी आन्दोलनको वास्तविक सत्य र जिम्मेवारीको खोजीभन्दा अघि सामाजिक सञ्जालमा कसले कसलाई ‘हत्यारा’ ठहर ग¥यो भन्ने होड चल्नु स्वयं लोकतन्त्र र न्यायका लागि खतरनाक संकेत भएको टिप्पणी बढ्दै गएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट