संसद् भवनमा आगो बाल्ने ‘जेनजी’ अभियुक्तलाई रास्वपाको टिकटः विध्वंश स्वीकार्ने व्यक्ति नै उम्मेदवार
राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत भदौ २४ गते काठमाडौंमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा संसद् भवनभित्रै प्रवेश गरी तोडफोड र आगजनीमा संलग्न रहेको खुलेआम स्वीकार गरेका व्यक्तिलाई आगामी प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनाएको तथ्य सार्वजनिक भएको छ।
रास्वपाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ बाट कृष्णकुमार कार्कीलाई उम्मेदवार बनाएको हो। कार्की भदौ २४ गते नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा छिरेर विध्वंश मच्चाउने समूहका अगुवामध्ये एक रहेको पुष्टि उनी स्वयंले सामाजिक सञ्जालमा राखेका पोस्ट, तस्वीर र स्वीकारोक्तिबाट हुन्छ।
मोरङको रतुवामाई नगरपालिका–९ निवासी कार्की करिब १२ वर्ष वैदेशिक रोजगारीका लागि जापानमा बसेर केही समयअघि मात्रै नेपाल फर्किएका व्यक्ति हुन्। कार्कीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्वीरहरूमा संसद् भवनभित्र कुर्सी जम्मा पारेर आगो लगाइएको दृश्य स्पष्ट देखिन्छ।
अझ गम्भीर कुरा त के छ भने, उनले भदौ २५ गते फेसबुकमा लेख्दै संसद् भवनभित्र कुर्सी जलाएको र नेताहरूको घरसम्म पुगेर आगजनी गरेको स्वीकार नै गरेका छन्। उनले लेखेका छन— ‘हामी संसद् भवन प्रवेश गर्यौं, भित्र अगाडि पुरानो कुर्सी जम्मा गरेर आगो बाल्यौं र खुसीयाली मनायौं… नेताको घर मात्र हाम्रो टार्गेट थियो।’
उनले बालाजुबाट नयाँ बजार हुँदै ठमेल, दरबारमार्ग, रानीपोखरी र सिंहदरबारसम्मको विध्वंशमा आफू अग्रपंक्तिमा रहेको उल्लेख गर्दै बालाजुदेखि सिंहदरबारसम्म भएका घटनाको जिम्मेवारी ‘जेनजी’ ले लिने दाबी समेत गरेका छन्। उनले सिंहदरबारको गेटमा लात्ती हान्दा अश्रुग्यास खाएकोदेखि विभिन्न स्थानमा आगो बालिएको प्रसंगसम्म विस्तारमा लेखेका छन्।
यति मात्र होइन, कार्कीको अर्को रोचक र गम्भीर पाटो पनि छ। आज जुन पार्टी र नेतृत्वको आडमा उनी संसदीय उम्मेदवार बनेका छन्, केही महिनाअघिसम्म उनी त्यही पार्टी र नेतृत्वका कट्टर आलोचक थिए। जापानमा रहँदा उनले रास्वपा सभापति रवि लामिछानेलाई सामाजिक सञ्जालमार्फत ‘अमेरिकी’ र ‘सहकारी ठग’ भन्दै कडा आरोप लगाएका थिए।
गत अप्रिल १ मा उनले फेसबुकमा लेखेका थिए— ‘सोझा–सिधा जनतालाई भ्रम छरेर सहकारी ठगी गर्ने अमेरिकी म टुलुटुलु हेरेर कहाँ बस्छु।’ संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि समेत उनले लामिछानेलाई जनावरबाहेक सबैले दोषी थाहा पाउने गरी प्रमाणित भएको टिप्पणी गरेका थिए।
तर, त्यही व्यक्ति आज रास्वपाकै उम्मेदवार बनेका छन्। संसद् भवनभित्र प्रवेश गरी आगो बाल्ने, सार्वजनिक सम्पत्तिमा विध्वंश मच्चाउने र त्यसको जिम्मेवारी खुलेआम स्वीकार गर्ने व्यक्ति पार्टीको आधिकारिक टिकट पाउँदा रास्वपाको नैतिकता, राजनीतिक मापदण्ड र ‘नयाँ राजनीति’ को दाबीमाथि गम्भीर प्रश्न उठेको छ।
संसद् भवनभित्रको आगजनी, सार्वजनिक संरचनामाथिको आक्रमण र हिंसात्मक गतिविधिलाई स्वीकार गरेका व्यक्ति उम्मेदवार बन्नु केवल एक व्यक्तिको विषय मात्र होइन, यो दण्डहीनता, राजनीतिक अवसरवाद र अपराधलाई संरक्षण गर्ने प्रवृत्तिको प्रत्यक्ष उदाहरणका रूपमा देखिएको छ। ‘भ्रष्टाचारविरुद्धको राजनीति’ र ‘सिस्टम परिवर्तन’ को नारा दिने दलकै तर्फबाट यस्तो उम्मेदवारी आउनुले जेनजी आन्दोलन, त्यसपछिको विध्वंश र त्यसको राजनीतिक उपयोगबारे थप गम्भीर बहस जन्माएको छ।


