छोरीको बिहे हुनै लाग्दा परिवार तहसनहसः अमेरिकामा बुबाआमासहित ३ जनाको हत्या, मनिषाको विवाह रोकियो
राजविराज — अमेरिकाको भर्जिनिया राज्यस्थित एक नेपाली परिवारमा भएको जघन्य हत्याकाण्डले सम्वन्धित परिवारको घर उदयपुरमा शोक मात्र छैन कान्छी छोरीको विवाहसमेत रोकिएको छ।
अमेरिकामा हत्याकाण्ड मच्चाएका बेलका नगरपालिका–९ रामपुरका ५० वर्षीय छत्रबहादुर थापा (मिलन) की कान्छी छोरी मनीषाको बिहे हुने दिन नजिकिँदै थियो, आफन्तजन जम्मा हुने क्रम सुरु भइसकेको थियो, र घर–आँगनमा उत्सवको तयारी चलिरहेको थियो। तर त्यही बेला विदेशबाट आएको खबरले सबै योजना चकनाचुर बनाइदियो। विवाहको तयारी भइरहेको परिवारले केही घण्टामै बुबा, आमा र दिदीको मृत्युको समाचार सुन्नुप¥यो।
सोमबार बिहान अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीमा भएको हत्याकाण्डले नेपालमा रहेको परिवार र गाउँलाई एकैपटक स्तब्ध बनायो। छत्रबहादुले आफ्नै श्रीमती ५१ वर्षीया बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेको आरोप छ। घटनापछि प्रहरी कारबाहीमा उनी पनि मारिएका छन्।
यसबारे जानकारी दिँदै फेयरफ्याक्स प्रहरीका प्रमुख केभिन डेभिसले घटनाको क्रूरता शब्दमा बयान गर्न कठिन भएको बताएका छन्। उनका अनुसार घटनास्थलको अवस्था यस्तो थियो कि त्यसबारे कल्पना गर्न समेत गाह्रो पर्छ।
नेपालमा भने यो खबर मंगलबार बिहानै फैलिएको थियो। अहिले छत्रबहादुरको परिवार र आफन्तहरू एकाएक शोकमा डुबेका छन्। सामान्य जीवन बिताउँदै आएका छत्रबहादुरका परिवारमाथि यस्तो भीषण घटना घटेको खबरले गाउँ नै स्तब्ध बन्यो। तर यो घटनाको सबैभन्दा पीडादायी पक्ष कान्छी छोरी मनीषाको विवाहसँग जोडिएको थियो। बुधबारका लागि उनको विवाह तय भएको थियो।
सुनसरीको चताराधाममा बिहेको तयारी चलिरहेको थियो। तर त्यही समयमा अमेरिका बसेका बुबा–आमा र दिदीको मृत्युको खबर आयो। मनीषाका दाजु मौसमले विश्वास गर्नै नसक्ने अवस्थाबाट गुज्रनुपरेको बताएका छन्। उनले भने, विवाहका लागि आफन्तहरू आउन थालेका थिए, सबैजना खुसी थिए, तर अचानक आएको खबरले सबैलाई अवाक बनायो। परिवारले के भोगिरहेको छ भन्ने कुरालाई शब्दमा बयान गर्न गाह्रो भइरहेको उनको भनाइ छ।
विवाहको तयारीबारे छत्रबहादुर आफैंले अमेरिकाबाट सरसल्लाह गरिरहेका थिए। परिवारका सदस्यहरूका अनुसार उनी नेपाल फर्कने योजना पनि बनाइरहेका थिए। तर त्यसअघि नै घटनाले भयावह मोड लियो। मृतक छत्रबहादुरका आफन्त सुशील थापाका अनुसार उनी गाउँमा खेतीकिसानीसँगै कुटानी–पिसानीको मिल सञ्चालन गर्दै आएका थिए।
गत असोजमा भने उनी श्रीमतीसहित अमेरिका गएका थिए। त्यहाँ छोरी ममता पहिले नै बस्दै आएकी थिइन्, जसले बुबाआमालाई घुम्नका लागि बोलाएको बताइन्छ। ममता २०७३ सालमा डीभीमार्फत अमेरिका पुगेकी थिइन् र त्यहीँ बसोबास गर्दै आएकी थिइन्।
घटनाको अघिल्लो दिनसम्म सबै कुरा सामान्य जस्तै देखिएको परिवारले बताएको छ। कान्छी छोरी मनीषाले आइतबार मात्रै बुबासँग फोनमा कुरा भएको बताइन्। उनले बुबा नेपाल आउन चाहिरहेको भए पनि तत्काल सम्भव नभएको बताएका थिए। त्यही दिन आमा र दिदीसँग पनि कुराकानी भएको र सबै कुरा सामान्यजस्तै लागेको उनले सम्झिइन्।
त्यसैले अचानक यस्तो घटना भएको खबरले परिवार अझै अचम्ममा परेको छ। मनीषाले घटनाबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने र वास्तविकता बाहिर आउनुपर्ने माग गरेकी छन्। बाहिर सार्वजनिक भएका केही विवरणहरू गलत ढंगले आएको हुनसक्ने आशंका पनि उनले व्यक्त गरेकी छन्।
अमेरिकामा भएको यो घटना नेपालमा रहेको एउटा विवाहमात्रै होइन, पूरा परिवारको जीवनलाई एकैपटक तहसनहस बनाएको छ। जहाँ बिहेको बाजा बज्नुपर्ने थियो, त्यही घर शोकमा डुबेको छ। गाउँभरि विवाहको चर्चा चलिरहँदा अचानक आएको हत्याकाण्डको खबरले सबैलाई स्तब्ध बनाएको छ। घटनाको कारण र वास्तविकता के हो भन्नेबारे अहिले पनि धेरै प्रश्नहरू उठिरहेका छन्, र परिवारले सत्यतथ्य सार्वजनिक हुनुपर्ने माग गरिरहेको छ।
