निर्वाचनअघि काठमाडौंमा गाडी आगजनी गर्ने युवक जेनजी आन्दोलनका घाइते र लागु औषध दुर्व्यसनी
काठमाडौं — प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा ठीक दुई दिनअघि काठमाडौंका दुई फरक स्थानमा सवारीसाधनमा आगजनी गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। नैकाप र महाराजगन्ज क्षेत्रमा पार्किङमा राखिएका सवारीसाधनमा आगजनी गरिएको घटनामा उनिहरुलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नैकापस्थित सिप्रदी ट्रेडिङको कार्यालय नजिकै मुख्य सडकमा पार्किङमा राखिएको बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्ज क्षेत्रमा बा.७ च. १४०१ नम्बरको मारुती भ्यानमा आगजनी गरिएको थियो। सो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ मा बस्दै आएका २८ वर्षीय सुमन बोहरा तथा सोही क्षेत्रका ५५ वर्षीय कृष्ण मिजारलाई पक्राउ गरेको हो।
दुवै जनालाई हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा आगजनी घटनामा संलग्न मुख्य व्यक्ति सुमन बोहरा रहेको प्रहरीको निष्कर्ष छ।
अनुसन्धानबाट बोहरा गत भदौ २३ र २४ गते काठमाडौंमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएका व्यक्ति रहेको खुलेको छ। उक्त प्रदर्शनका क्रममा घाइते भएपछि उनको उपचारका लागि ‘नेप्लीज बिजनेस डाइरेक्टरी’, ‘वान क्लब’ र बेलायतबाट सञ्चालित ‘गो फन्ड’ अभियानमार्फत २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो। सहयोग रकम हस्तान्तरण गरिएको भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राममा समेत सार्वजनिक भएको छ। सो भिडियोमा बोहराले आन्दोलनका क्रममा आगलागी भएको भवनबाट मानिस बचाउने प्रयास गर्दा माथिल्लो तलाबाट हाम फाल्नुपर्दा आफ्नो खुट्टा भाँचिएको बताएका थिए।
प्रहरीको अनुसन्धानले बोहरा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’सँग पनि जोडिएको देखाएको छ। उक्त समूहले प्रतिनिधिसभा निर्वाचन बिथोल्ने घोषणा गरेको सन्दर्भमा बोहराले चुनाव हुनुअघि नै आगजनी गरेर आतंक सिर्जना गर्न खोजेको हुनसक्ने प्रहरीको आशंका छ।
प्रहरीका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनभन्दा दुई दिनअघि अर्थात् फागुन १९ गते बिहान नैकाप क्षेत्रमा बोहराले टोयोटा कारमा आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनास्थल आसपासबाट दुर्गा प्रसाईं नेतृत्वको महाअभियानसँग सम्बन्धित पर्चासमेत प्रहरीले बरामद गरेको जनाएको छ।
पक्राउ परेका बोहराको साथबाट लागुऔषधको रूपमा प्रयोग हुने ट्रामाडोलका १० वटा ट्याब्लेट पनि बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। उनका अनुसार बोहरा लागुऔषध दुव्र्यसनमा संलग्न रहेको आशंकामा समेत अनुसन्धान भइरहेको छ।
हाल प्रहरीले बोहराविरुद्ध आगजनीसम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ। घटनामा अन्य व्यक्ति वा समूहको संलग्नता रहेको वा नरहेको विषयमा समेत प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
