इनिसाको रहस्यमय मृत्यु प्रकरणमा आरोपितको बयानः ‘शारीरिक सम्पर्कपछि अत्यधिक रक्तश्राव भयो’
काठमाडौँ– वीरेन्द्रनगरको शहीद पार्कस्थित जंगलमा कक्षा ११ मा अध्ययनरत किशोरी इनिसा विक मृत अवस्थामा फेला परेको घटनाले सुर्खेतमा गम्भीर तरंग पैदा गरेको छ। मृतक परिवार र अधिकारवादी समूहहरूले सामूहिक बलात्कारपछि हत्या भएको आशंका व्यक्त गर्दै निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गरिरहेका छन्।
गत शनिबार बिहान करिब ६ बजे इनिसा ‘ट्युशन पढ्न जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन्। उनकी आमा तिला विकले त्यस दिन शनिबार भएकाले नजान आग्रह गर्दै ‘गुर्भाकोट घर जानुपर्ने’ भन्दै रोक्न खोजेकी थिइन्। तर इनिसाले ‘दुई घण्टामै फर्किन्छु’ भन्दै जिद्दी गरेपछि उनी घरबाट निस्किइन्। वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका स्कुलमा कक्षा ११ मा विज्ञान विषय अध्ययनरत इनिसा बिहान ८ बजेसम्म घर फर्किने भन्दै हिँडेकी थिइन्।
तर बिहान ९ बजेसम्म पनि छोरी घर नफर्किएपछि आमाले फोन सम्पर्क गर्ने प्रयास गरिन्। फोन स्वीच अफ देखिएपछि उनी चिन्तित भइन्। उनले स्कुलमा फोन गरिन् तर त्यहाँ पनि सम्पर्क हुन सकेन। कम्प्युटर पढाउने शिक्षकलाई फोन गरिन तर, बन्द थियो। त्यसपछि परिवारमा थप चिन्ता बढ्यो। केही बेरपछि अपरिचित नम्बरबाट फोन आयो र फोन गर्ने व्यक्तिले ‘तपाईंकी छोरी शहीद पार्कको जंगलमा बेहोस अवस्थामा छिन्, छिटो लिन आउनुस्’ भनेर जानकारी दियो।
हतारिँदै शहीद पार्क पुगेकी तिलाले देखेको दृश्य अत्यन्त भयावह थियो। उनका अनुसार छोरीको शरीर रक्ताम्मे अवस्थामा थियो। कपाल लुछिएको, वरिपरि घाँस मडारिएको र शरीरभरि चोटका चिन्ह देखिन्थे। एकातिर जुत्ता र अर्कोतिर मोजा छरिएको थियो। खोल्सातिर ढलेकी इनिसाको शरीरमा कुनै कपडा थिएन, कालो ज्याकेटले मात्र छोपिएको थियो। प्रहरीले ज्याकेट हटाएर अनुहार देखाउँदा छोरीको छातीभरि नीलडाम देखिएको तिलाले बताइन्। त्यो दृश्य देख्नेबित्तिकै आफू बेहोस भएको उनले बताएकी छन्।
त्यसपछि प्रहरीले इनिसालाई अस्पताल पु¥याएको जानकारी आफूलाई पछि मात्र थाहा भएको तिलाले भनिन्। यस घटनाले घरमा मात्रै होइन, विदेशमा रहेका उनका बुवालाई समेत स्तब्ध बनाएको छ। इनिसाका बुवा इन्द्रबहादुर विक नेपाली सेनाबाट अवकाशपछि रोजगारीका लागि दुबईमा छन्।
पछिल्लो छ वर्षदेखि दुबईमा कार्यरत उनी एक महिना अघि मात्रै छुट्टी सकेर फर्किएका थिए। छोराछोरीको उज्ज्वल भविष्यका लागि विदेश गएका इन्द्रबहादुरको सपना छोरीलाई डाक्टर बनाउने थियो। तर छोरीको मृत्युको खबर पाएपछि उनी तत्काल नेपाल फर्किन खोज्दा पनि मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण दुबई विमानस्थल बन्द भएकाले उनी त्यहीं अलपत्र परेको परिवारले जनाएको छ।
घरमा भने इनिसाकी आमा तिला विक्षिप्त अवस्थामा छिन्। छोरीको मृत्युको धक्काले उनको स्वास्थ्य कमजोर बन्दै गएको आफन्तहरूले बताएका छन्। इनिसाका दाजु नाता पर्ने चन्द्रबहादुरका अनुसार परिवार न्यायको खोजीमा चार दिनदेखि जिल्ला प्रहरी कार्यालय सुर्खेत धाइरहेको छ। उनका अनुसार प्रहरीले केही व्यक्तिलाई पक्राउ गरे पनि घटनाको स्पष्ट निष्कर्ष अझै सार्वजनिक हुन सकेको छैन।
चन्द्रबहादुरले भने, ‘घर जाऊँ भने फुपुको अवस्था हेर्ने हिम्मत छैन, प्रहरीकहाँ आउँ भने चित्त बुझ्दो जवाफ पाइँदैन।’ घटनाबारे मृतक परिवारले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै चार जनाविरुद्ध कर्तव्य ज्यान र जबरजस्ती करणीको उजुरी दिएको छ। तर प्रहरीले भने अनुसन्धान जारी रहेको बताउँदै घटनाका सबै कोणबाट छानबिन भइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेकामध्ये एक १६ वर्षीय किशोरले प्रारम्भिक बयानमा इनिसासँग शारीरिक सम्पर्क भएपछि अत्यधिक रक्तश्राव भएको र उनी अचेत भएपछि अरु तीन जना साथीलाई बोलाएर सहयोग मागेको बताएका छन्।
तर मृतक परिवारले भने यो दाबीलाई अस्वीकार गर्दै घटनास्थलको अवस्था हेर्दा सामूहिक बलात्कारपछि हत्या गरिएको स्पष्ट देखिने बताएको छ। चन्द्रबहादुरका अनुसार मृतकको शरीरमा नीलडाम, कपाल लुछिएको अवस्था र गम्भीर चोटका चिन्हहरू देखिएकाले सामान्य शारीरिक सम्पर्कका कारण मृत्यु भएको भन्ने तर्क अस्वीकार्य छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपीले भने घटनालाई गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताएका छन्। पक्राउ परेकाहरू सबै नाबालिग भएकाले उनीहरूको विस्तृत बयान अझै सुरु नभएको र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र घटनाको स्पष्ट निष्कर्षमा पुग्न सकिने उनले बताएका छन्।
